Nepal's First Video FM

खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ताको भेलामा सहभागी हुन गए, कारबाही हुन्छ : प्रधानमन्त्री ओली

409

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल समूहले आयोजना गर्ने कार्यकर्ता भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। बालुवाटारमा मंगलबार आयोजित चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भोलि र पर्सी आयोजना हुने राष्ट्रिय कार्यकर्ताको भेलामा सहभागी नहुन अनुरोध गरेका हुन्।

पार्टीले माघ ७ गते केन्द्रीय कमिटिको बैठक बोलाएको भन्दै त्यसअघि नै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको भन्दै अनुशासनहीन काम गरेको खण्डमा विधानअनुसार कारबाही गरिने चेतावनी दिए।‘गुटगत भेला गर्ने, समूहलाई आफ्नो पक्षमा लिएर पार्टीको विधान, अनुशासनविपरीत कार्यक्रम गरिएको खण्डमा विधानअनुसार कारबाही गरिनेछ’, अध्यक्ष ओलीले भने।

‘सुन्दैछु भोलि भेला आयोजना गरेको छ रे। नेकपा एमालेसँग आवद्ध, सम्बन्ध कोही नेता वा कार्यकर्तालाई गुटगत भेला नगर्न, नगराउन र त्यस्ता भेलामा सरिक नहुन नजान सचेत गराउन चाहन्छु’, अध्यक्ष ओलीले भने, ‘पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु। त्यस्ता गुटगत भेलामा सरिक नहुन तमाम् कार्यकर्तालाई अनुरोध गर्छु।’उनले भोलिको भेलामा एक नजर त्यतातिर लगाउनेसमेत बताए। बताए। सत्यसँग नलड्ने र निहु खोज्नेहरूसँग नझुक्ने आफ्नो नीति भएको प्रधानमन्त्री ओलीको भनाई छ। आजको चियापान कार्यक्रममा सहभागी नहुन भनेर गुटको बैठक नै बसाएर निर्णय गरेको सुन्नमा आएको भन्दै त्यस्तामाथि थप कदम चालिने ओलीको चेतावनी छ।

आफ्नो नीति कसैप्रति पनि लाचार र रिस बैभवको भावना नरहेको भन्दै गलत गर्नेलाई कुनै पनि हालतमा नछाडिने बताए।विचार केन्द्रीत अनुशासित, र संगठित भएर अगाडि बढ्नुपर्ने भन्दै ओलीले विचारको राजनीति गर्ने छुट सबैमा भएको बताए। ‘यस पार्टीमा कसैमाथि अन्याय हुन्न। ठूला-ठूला अपराध भएका छन्। तर हामीले फराकिलो हृदय लिएका छौ’, उनले भने, ‘एकदम अपराध गर्नेलाई स्वागत त गर्दैनौं। तर स्वीकार्छौ। त्यसका लागि सच्चीएर काम गर्नुपर्छ।’

अध्यक्ष ओलीले पार्टीले बोलाएको चियापानमा नआएर कसको निम्तामा जाने भन्दै असन्तुष्ट पक्षका नेताहरूलाई प्रश्न गरेका थिए। ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले बोलाएको चियापानमा नआएर कसले बोलाएमा जानुहुन्छ भन्दै प्रश्न गरेका हुन्। प्रधानमन्त्री ओलीले माधवकुमार नेपालप्रति कटाक्ष गर्दै पार्टीले बोलाएको चियापानमा बैठक बसेरै नआउने निर्णय गरेको भन्दै व्यङ्ग गरे। ‘एकथरी अनुहारका साथीहरू चियापानमा देखिनुभएन, हिजो बेलुकी बैठक बसेर पार्टी अध्यक्षको चियापान नजाने भनेर निर्णय गर्नुभएछ,’ उनले भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको निमन्त्रणा र चियापान नजाने, कसको निम्ता र चियापानमा जानुहुन्छ?’

ओलीले चियापानमा नेताहरू नआउनु राम्रो लक्षण नभएको टिप्पणी गरे। ‘कुनै कारणबस भ्याउनुभएन होला भन्ने म ठान्छु, चियापानमा नआउने निर्णय गर्नुभएन होला भन्ने म ठान्छु,’ उनले भने, ‘अझै केही समय बाँकी छ, भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न, कति तमासा गर्नुहुन्छ, एक नजर चाहिँ त्यता राखिनेछ।’ ओलीले पार्टीलाई धम्क्याएर र धुर्‍क्याएर ठेगान लगाउने नसोच्न आग्रह गर्दै विधिविधान अनुसार पार्टी चल्ने स्पस्ट पारे। नचाहिने कुराका अगाडि पार्टी नझुक्ने स्पस्ट पार्दै उनले सत्यसँग नलड्ने, निउँखोजहाहरूसँग नझुक्ने आफूहरूको नीति रहेको स्पष्ट पारे। ओलीले कसैले उक्साहट र विभिन्न हल्ला फैलाएर आवेश र उत्तेजनामा ल्याउन खोजे पनि संयम र गम्भीर हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे। यद्यपि आफूहरू लाचार भने नबन्ने उनकाे भनाइ छ। यस खबर आजको सेतोपाटिमा प्रकाशित गरिएको छ ।

You might also like

Comments are closed.