काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आजदेखि समानान्तर भेला सुरू गर्ने भएको छ । २ दिने राष्ट्रिय कार्यकर्ता भेला पछि खनाल–नेपाल समूहले जनसंगठनहरूको समानान्तर सभा राखेको हो । आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । कालीमाटी ब्यांक्वेटमा आयोजना गरिएको भेलालाई वरिष्ठ नेताद्वय नेपाल र खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । २८ फागुनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको महिला भेला भएको थियो ।
देशभर समानान्तर संगठन र गतिविधि गर्ने घोषणा गरेको खनाल–नेपाल पक्षले भोलि युवा संघको भेला र १० चैतमा विद्यार्थीको राष्ट्रिय भेला बोलाएको छ । यस्तै अन्य जनसंगठनलाई पनि समानान्तर गतिविधि गर्न निर्देशन दिइएको छ । उता खनाल नेपाल पक्षको प्रदेश नं २ को केन्द्रीय कमिटिको बैठक पनि आज बस्दैछ । बैठक वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा बस्ने बताइएको छ । प्रदेश २ का नेपाल खनाल पक्षीय केन्द्रीय सदस्य उपस्थित हुने बैठकमा
अबको राजनीतिक परिदृश्य तथा प्रदेश संगठनका विषयमा छलफल हुने छ । नेपाल खनाल पक्षले प्रदेश नं २ को इञ्चार्ज घनश्याम भुसाललाई तोकेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी निर्णय गरेको भन्दै विरोधमा उत्रिएको नेपाल खनाल समूहले हरेक विभाग तथा तहमा समानान्तर कमिटी गठन गरिसकेको छ ।
Comments are closed.