फागुन २४, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुरुष हुनु भनेको महिला हिंसा गर्नु नभएको बताएका छन् ।
१ सय ८ औ ‘अन्तर्राष्ट्रिय महिला दिवस २०१८’ का अवसरमा बिहिबार यहाँ ‘महिला हिंसाविरुद्ध पुरुष पदयात्रा’को उद्घाटन गर्दै उनले महिलामाथि हिंसा गर्ने पुरुष नै नहुने बताए । उनले भने, “हामीले प्रजातन्त्र गणतन्त्र पायौंँ, प्रविधिका पछिल्ला सबै सामग्री प्रयोग गरिरहेका छौंँ तर महिलामाथि हुने हिंसा घटेको छैन ।”
महिला हिंसाविरुद्ध पुरुषले महिलालाई साथ र सहयोग दिनुपर्ने बताउँदै उनले संविधानले दिएको समानताको हकलाई महिलाले भोग्नसक्ने सम्पूर्ण अवसर सिर्जना गरी असमानताको व्यवहारलाई हटाउनु पर्नेमा जोड दिए ।
नेपाल वातावरण पत्रकार समूह, फ्रिडम फोरम नेपाल लगायत २० भन्दा बढी संघ संस्थाद्वारा संयुक्त रुपमा आयोजित पदयात्रा भृकुटीमण्डपबाट शुरु भई भद्रकाली मन्दिर, शहीदढोका हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो ।
पदयात्रामा सहभागी पुरुषलाई महिलाको स्वास्थ्य लगायत महिनावारी स्वच्छतामा अझै जिम्मेवार बनाउन महिलाले महिनावारीमा लगाउने प्याड पनि वितरण गरिएको थियो । रासस
Comments are closed.