काठमाडौँ, पूर्व खानेपानीमन्त्री बीना मगर मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गर्न पुगेकी छिन् । मेलम्ची खानेपानी आयोजना विकास समितिका निमन्त्रणामा सुन्दरीजल पुगेकी मगरले उक्त प्रशोधन केन्द्रको अवलोकन गरेकी हुन् ।
सो अवसरमा उनले सञ्चारकर्मीसँग भनिन्, “हाम्रो अथक मेहनत र योजनामुताबिक मेलम्ची आयोजनाको कामले तीव्रता पाएको हो । उपत्यकावासीको मेलम्चीको पानी पिउने सपना अब करिब पूरा भएको छ ।”
मेलम्चीबाट सुरुङमार्फत ल्याइएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भइसकेपछि काठमाडौँ उपत्यकामा वितरण गरिने छ । आयोजनाले मेलम्चीबाट आएको पानी शुक्रबार उक्त प्रशोधन केन्द्रमा हालेको छ । एक दुई दिनपछि काठमाडौँका घरघरमा मेलम्चीको पानी आउने आयोजनाले जनाएको छ ।
आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्याङ्कमा सबैभन्दा बढी काम पूर्वमन्त्री मगरको कार्यकालमा भएको देखिएको थियो । मगरको कार्यकालमा सम्पन्न हुने उक्त आयोजना सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण केही समय ढिलो हुन गएको थियो ।
इटालियन कम्पनी सीएमसीले बीचैमा काम छाडेर गएपछि पूर्व मन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो । आफूले गरेको मेहनतको फल काठमाण्डौंबासीले पाउन लागेको भन्दै मगरले खुशी ब्यक्त गरेकी छिन् ।
Comments are closed.