काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको भन्दै उनले भने, ‘सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ, नयाँ परिस्थिति बन्नेछ ।’
शनिबार कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले नयाँ सरकार गठनका लागि आजैबाट दलहरुसँग छलफल गर्ने बताए । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली मधेस विरोधी भएको भन्दै उनले मधेसको मसिहा ठान्ने केही नेता मन्त्री बन्न ओलीको साथमा जान लागेको बताए ।
हालै मात्र आफूले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग कुरा गरेको भन्दै उनले भने, ‘मैले महन्थ ठाकुरलाई पनि भनेको छु, म त हैरान भएर केपी ओलीविरुद्ध विद्रोह गरेर आएको छु । मधेसी अधिकारको पहिचान विरोधीसँग तपाईंहरुको के खासखुस भइरहेको छ ? यसले मधेसी जनताको अपमान हुन्छ । त्यसैले मधेसी जनताको आत्मसम्मानको मोर्चामा आउनुस् ।’
उनले आफूले नयाँ सरकारको लागि आजैदेखि बैठक र छलफल थालिहाल्ने पनि बताए। हिजो र आजको राजनीतिले कोल्टे फेर्दा नयाँ सरकारको बाटो खुलेको प्रचण्डको भनाइ छ । ‘तपाईंरुलाई बधाई छ, सम्भवत: छिटै नयाँ सरकार बन्दैछ, नयाँ परिस्थिति बन्दैछ’, प्रचण्डले भने।
Comments are closed.