काठमाडौं – सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा आएर बहस गर्न चुनौती दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विषेश समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीले संसदलाई छलेर बाहिर बाहिर भाषण गर्दै हिडेको भन्दै आक्रोश पोखेका हुन्।
उनले भने,‘प्रधानमन्त्रीलाई म संसदमा निम्तो दिन चाहन्छु, चुनौती दिन चाहन्छु।’ उनले संसदबाहिर प्रधानमन्त्री अनेकौ भाषण गर्दै हिडेको तर संसदमा आएर बहस गर्ने हिम्मत नराखेको बताए। उनले भने,‘संसदबाहिर हुक्के चिलिमे राखेर माथि बसेर गफ दिने अनि तल बसेर ताली पिट्ने? संसदमा हामी बालकविता सुनाएर बस्ने होइन, संसदलाई छलेर भागेर होइन।’
सांसद थापाले प्रधानमन्त्रीले गफ मात्रै गरेको भन्दै २ वर्ष पहिला बनेको सिन्धुलीको पुल अहिले उद्घाटन गरेको भन्दै आलोचना समेत गरे। उनले भने,‘ प्रधानमन्त्रीलाई अहिले बाटो पुलको शिलान्यश गर्न भ्याइनभ्याई छ। प्रधानमन्त्रीलाई चमत्कार गरेको भनेर चरम अल्पज्ञान, ढाँट्ने बानी लागेको छ। २०७४ साल चैतको २ गते खानेपानीमन्त्री आएपछि २०७५ साल असोजसम्म ठेकेदारसम्म मोलमोलाई मिलेन। ९ महिना आयोजनाको कामको सिन्को पनि नभाचेर अहिले यत्रो फुर्ति? २३ वर्ष आयोजनाका लागि समय लाग्दा माफी माग्नुपर्दैन? श्रेय लिने होडबाजी ? धारा खोलेर, बाल्टी, कहिले उठेर कहिले बसेर उद्घाटन गर्ने? तमासा गर्ने?’
गगन थापाले केहीदिन भित्रमा प्रधानमन्त्रीले तामाकोशी जलपिवद्युत आयोजनामा समेत उद्घाटनको यस्तै तमासा देखाउने दाबी गरे। तर राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको ध्यान जान नसकेको समेत बताए।
Comments are closed.