काठमाडौं – सांसद महेश बस्नेतले कांग्रेसका सांसद गगन थापालाई प्रधानमन्त्री ओलीलाई चुनौती दिएर बालहठ प्रदर्शन गरेको बताए। बिहिबार प्रतिनिधिसभाको बैठकमा गगन थापाले प्रधानमन्त्री ओलीलाई उद्घाटनको तमासा गरेको भन्दै कति विकास भयो छुट्टै बसेर बहस गर्न चुनौती दिए।
सांसद बस्नेतले २०७४ सालको चुनावमा एमालेलाई जनताले बहुमत दिएको र कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर समानुपातिकबाट ६३ सिट ल्याएको उल्लेख गर्दै भने– ‘प्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ गर्ने कांग्रेसका साथीहरुलाई म के भन्न चाहन्छु भने यो बोकाको शैलीले दाई गरिँदैन दाई गर्नका लागि गोरुकै शैली चाहिन्छ । अहिले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेले प्रतिनिधित्व गर्छ। प्रधानमन्त्रीले ल्याएका योजनाहरुलाई सके सहयोग गरौँ नसके वस्तुनिष्ठ ढंगले विश्लेषण गरौँ।’
उनले त्रेता र द्वापर युगमा समेत रावण र कंश प्रवृत्ति रहेको भन्दै अहिले प्रधानमन्त्री ओलीले त्यस्ता प्रवृत्तिलाई परास्त गर्दै राजनेताको रुपमा अघि बढेको दावी गरे। उनले रानीपोखरी बनेको कुराले भानु स्कुल बनेको कुराले एकैदिन ३ सय ९६ अस्पताल शिलान्यास भएको कुराले किन टाउको दुख्दैछ भन्दै प्रश्न गरे।
Comments are closed.