कहिल्यै नसकिने शेरबहादुर-रामचन्द्र झगडा, सार्वजनिक कार्यक्रममै भनाभन , अवसर खेर फालेको भन्दै आक्रोश पोखेपछि !
काठमाडौं । नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ ।
कार्यक्रममा नै नेता पौडेलले नयाँ सरकार गठनको अवसर खेर फालेको भन्दै आक्रोश पोखेपछि सभापति देउवाले मैले कहाँ कस्तो अवसर खेर फालें भन्दै पौडेललाई प्रतिप्रश्न गरेका छन् ।
शुक्रबार कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा सहभागी भएका देउवाले नयाँ सरकार गठन गर्ने परिस्थिति नआए निर्वाचनमा पनि जान सकिने बताए । कार्यक्रममा देउवा पक्षका नेताले चुनावको पक्षमा बोलेका थिए भने पौडेल तथा संस्थापनइतर पक्षका नेताहरूले नयाँ सरकार गठनमा जोड दिएका थिए ।
कार्यक्रममा नेता पौडेलले जोखाना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेकोमा देउवाको आलोचना गर्दै अब अर्को अवसर खेर फाल्न नहुने आवश्यकता औंंल्याए ।
पौडेलले बोलेपछि अन्तिममा बोलेका सभापति देउवाले पौडेलतर्फ संकेत गर्दै आफूले कुनै अवसर खेर नफालेको स्पष्ट पारे । ‘मैले केमा अवसर खेर फालें ?’ देउवाले प्रश्न गर्दै भने ।
यसअघि सभामा नै पौडेल र देउवाबीच सामान्य भनाभन भएको थियो । त्यसमा उपसभापति विमलेन्द्र निधिले देउवालाई साथ दिएको कार्यक्रममा सहभागी एक कर्मचारीले बताए ।
निधिले सभापति देउवाकै शैलीमा नयाँ सरकार गठनका लागि संसद्मा संख्या पुग्नुपरेन ? भनेर प्रश्न गरेका थिए । यो खबर आजको राजधानी दैनिकमा छ ।
Comments are closed.