काठमाडौँ, अभिनेत्री ऋचा शर्मा गर्भवती भएकी छन्। उनले बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम अकाउन्टमार्फत आफू गर्भवती भएको जानकारी गराएकी हुन्।
उनले आफ्नी आमाको स्मरण गर्दै आफू पनि आमा बन्न लागेको बताएकी हुन्।
‘आमाले भन्नुहुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउछस्। आज त्यही कुरा स्मरणमा आइरहेको छ। एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरू पोख्न सकिरहेको छैन,’उनले लेखेकी छन्,’आज आफ्नो धड्कन भन्दा कोही अरूको धड्कन मभित्र प्यारो आभास भइरहेको छ।’
उनले आफ्ना श्रीमान दिपेक्षविक्रम राणासँगै भर्खरै रोपेको बिरूवामा पानी हाल्दै गरेको तस्वीर राखेकी छन्।
‘आज तपाईंहरू माझ यो खुसी बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको छ। एउटा जीवनलाई स्वरूप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो,’उनले भनिन्,’त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रूख रोप्दैछौं। यो नयाँ जीवनको आगमन र यो रूखको अटूट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु।’
त्यस्तै, क्षितिजमा रहेकी आमाले पनि छोरीलाई ठूली भई भन्दै गरेको हुनुपर्ने उनले लेखेकी छन्।
‘मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई।’
ऋचा शर्मा र दिपेक्ष विक्रम राणा २०७६ मंसिरमा वैवाहिक सम्बन्धमा गाँसिएका थिए। दिपेक्ष ललितपुरको पुल्चोकस्थित लविम मलका व्यवस्थापक हुन्। विवाह अघिदेखि नै उनीहरू प्रेम सम्बन्धमा थिए।
Comments are closed.