Nepal's First Video FM

रामबहादुर थापा बादलले गृहमन्त्रीको सपथ लिए !

0 201

काठमाडौँ, रामबहादुर थापा बादलले पुनः गृहमन्त्रीको सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन्।

नेकपा माओवादी केन्द्रको सिफारिसमा बादललाई आजै राष्ट्रिय सभा सदस्यबाट हटाइएको थियो। राष्ट्रिय सभा सदस्य हटेसँगै स्वत: गृहमन्त्री पद पनि हटेको थियो।

तर प्रधानमन्त्री ओलीले फेरि गृहमन्त्रीमा बादललाई नै निरन्तरता दिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्री थापालाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।

‘नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई मन्त्रीपदमा नियुक्ति गरी गृह मन्त्रालयको कार्यभार तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बादल नेकपा एमालेका केन्द्रीय सदस्य छन्। उनलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय सदस्य बनाएका थिए।

दल त्याग गरेको भन्दै माओवादीले उनलाई राष्ट्रिय सभा सदस्यबाट हटाउने निर्णय गरेको थियो। ०७४ मा भएको निर्वाचनमा माओवादी केन्द्र बागमती प्रदेशबाट बादल राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए।

उनको सांसद पद रिक्त भएसँगै अब ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्नेछ।

You might also like

Leave A Reply

Your email address will not be published.