Nepal's First Video FM

चन्द्रागिरि हिल्स मूल्यमा भारी गिरावट, शेर वजारमा भयो उथल पुथल

340

केही दिनअघिसम्म सेयर मूल्य उचालिँदै गएको चन्द्रागिरि हिल्स कम्पनीले १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ।

कम्पनीले यस आर्थिक वर्षको ९ महिनामा अर्थात प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो नोक्सानी ब्यहोरेको हो। गत आर्थिक वर्ष यसै अवधिमा कम्पनीले २ करोड १८ लाख रुपैयाँ नोक्सानी ब्यहोरेकोमा अहिले १६ करोडले बढेको हो।

कम्पनीले केबलकार संचालनबाट ९ महिनामा कुल १७ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ। संचालन तथा प्रशासनिक खर्च बढी भएपछि कम्पनीको नोक्सानी बढेको हो।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ। जगेडा कोष ३२ करोड नोक्सानमा छ। त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ ९ पैसा मात्रै छ।

कम्पनीको वित्तीय स्थिति नाजुक देखिए पनि बजारमा भने मूल्य उच्च छ। सोमबार १ बजेसम्म कम्पनीको मूल्य ७ प्रतिशतले घटेको छ।

यो समयसम्म १७९ रुपैयाँ प्रतिकित्ता मूल्य घटेर २२३० रुपैयाँ आसपासमा कारोबार भएको छ। यो कम्पनी होटल तथा पर्यटन समूहमा आवद्ध छ।
मूल्य आम्दानी अनुपातका आधारमा कम्पनीको सेयर एकदमै जोखिम देखिन्छ। मूल्य आम्दानी अनुपात ऋणात्मक २१० हुन आउँछ। कम्पनीले कोरोनाको असरका कारण असर देखिएको जनाएको छ।

सेमिनार, सभा सम्मेलन, रिफ्रेसमेन्ट कार्यक्रमहरु संचालन गरी आर्थिक क्रियाकलापलाई सुधारोन्मुख बनाइने कम्पनीको दावी छ।

यस आर्थिक वर्षको पहिलो ९ महिनामा औसत दैनिक १४ सय आगन्तुक र रिसोर्टमा औसत अक्युपेन्सी ४० प्रतिशत रहेको कम्पनीले जनाएको छ।

जिपलाइन, सुइङ लगायतका सुविधा समेत थप गर्ने योजना बनाई कार्य अघि बढाइएको कम्पनीले जनाएको छ।

You might also like

Comments are closed.