भारतसँगको उडान नरोकिदा संक्रमणको दरमा उच्च वृद्धि , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक चार सय यात्रु काठमाडौं प्रवेश
काठमाडौँ, छिमेकी मुलुक भारतमा महामारी नियन्त्रणबाहिर गएकाले प्रायः मुलुकले हवाइ सम्पर्क विच्छेद गरे पनि नेपालमा भने दैनिक दुई उडान भइरहेका छन् । भारतबाट हवाइ मार्ग हुँदै नेपाल आउनेलाई क्वारेन्टिन बस्न बाध्य पारिएको छैन ।
भारतमा पछिल्लो २४ घण्टमा ३ लाख ४६ हजार नयाँ संक्रमित थपिएका छन् । एकै दिन २६ सयभन्दा बढीको ज्यान गएको छ । यस तथ्यांकले त्यहाँ महामारीले कस्तो रुप लिएको छ भन्ने प्रस्ट पार्छ । तर त्यहाँबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी गरिएको छैन । हवाइ मार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक चार सय हाराहारी यात्रु काठमाडौं प्रवेश गरिरहेका छन् । उनीहरुलाइ समुदायमा जान कसैले रोकेको छैन । क्वारेन्टिन बसे नबसेको निगरानी पनि गरिएको छैन ।
नेपाल वायु सेवा निगम र एयर इन्डियाका एकएक गरी नयाँ दिल्लीबाट काठमाडौंका लागि दैनिक दुईटा उडान हुँदै आएको छ । खाडी मुलुकमा श्रमिक पुनः फर्किँदा तेस्रो मुलुकमा कम्तीमा १५ दिन बस्नुपर्ने नियमका कारण नेपाल प्रवेश गर्ने भारतीयको चाप छ । पछिल्लो एक सातामा २१ सय ५३ जना भारतीय राहदानीबाहक नेपाल भित्रिएको विमानस्थलको तथ्यांक छ ।
प्रवेश गर्न सजिलो र बसाइँ पनि सस्तो भएकाले विभिन्न नाका हुँदै सडकमार्गबाट आउने भारतीय अझ धेरै हुन सक्ने अनुमान छ । भारतसँगको यस्तो निर्बाध आवागमन महँगो पर्न सक्ने चिकित्सकहरूको चेतावनी छ ।
सीमा क्षेत्रमा भारतबाट प्रवेश गर्नेहरूको परीक्षणले झण्डै शत प्रतिशतमा भाइरस पु्ष्टि भइरहेको छ । तैपनि, भारतसँगको आवागमन किन नियन्त्रित नगरिएको हो ? यसको जवाफ भने कुनै निकायले दिएका छैनन् ।
Comments are closed.