काठमाडौं । गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद दीपक मनाङेले सपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् ।
सपथ ग्रहणमा मनाङे निलो रंगको कोट र दौरा सुरुवालमा ठाँटिएका थिए । सपथअघि उनले पत्रकारहरुसँग केहीबेर अनौपचारिक कुरा पनि गरे ।
सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित भएनन् ।
मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। आफूविरूद्ध अविश्वास प्रस्ताव आइरहेका बेला मुख्यमन्त्री गुरूङले मन्त्रिपरिषद विस्तार गरेका हुन्। बुधबार सांसद गुरूङ प्रदेश सभा बैठकमा पनि सहभागी भएका थिएनन्।
मुख्यमन्त्री गुरूङविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा सांसदले अविश्वास प्रस्ताव ल्याएका छन्। उक्त प्रस्तावमा जनमोर्चाले मतदान गर्ने बताएको थियो। तर जनमोर्चा सांसद खिमविक्रम शाही बुधबार प्रदेश सभा बैठकमै उपस्थित भएनन्।
सभामुखले अनिश्चितकालका लागि प्रदेश सभा बैठक स्थगित गरेका थिए। प्रस्तावमा राष्ट्रिय जनमोर्चाको समर्थन छ। प्रदेश सभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला जनमोर्चाका सांसद खिमविक्रम शाही बुधबार बिनाजानकारी सदनमा अनुपस्थित भएपछि प्रदेश राजनीतिले नयाँ मोड लिएको छ।
शाही प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि जनमोर्चाकी सचेतक पियारी थापाले उनको अवस्था सार्वजनिक नभएसम्म सदनको कारवाही रोक्न माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गरेकी थिइन्।
Comments are closed.