दीपक मनाङेले भने : नेताहरूलाई सिकाउन चाहन्छु– मन्त्री भनेको पैसा कमाउन होइन, देशलाई योगदान गर्न बन्ने होे
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार दुई साता पनि नटिक्ने थाहा हुँदाहुँदै मन्त्री हुन तयार भएको बताएका छन् । ‘यो सरकारको कामै छैन, दुई हप्तामा जान सक्छ,’ बिहीबार शपथपछि पदभार ग्रहण गर्दै उनले भने, ‘जति समय बस्छु, परिवर्तन गरेर देखाउँछु ।’
सपथ कार्यक्रममा मन्त्री मनाङ्गे फुरुङ्ग देखिएका थिए । सपथ ग्रहणका लागि प्रदेश नीति तथा योजना आयोगको हलमा पुगेका मनाङ्गेले केहीबेर सञ्चारकर्मीहरुसँग गफिएका थिए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफुले युवाको क्षेत्रमा काम गरिरहकोले यो मन्त्रालय रोजेको बताएका छन् ।
आफुसँग युवा तथा खेलकुद मन्त्रालय हाँक्ने ‘विजनेस प्लान’भएको भन्दै त्यो अनुसार काम भएमा युवाहरू विदेश जानु नपर्ने मनाङेले बताएका छन् । आफुले यस अगाडि पनि युवाहरु रोजगारी दिएको बताउदै उनले भने, मेरो प्लान अनुसार काम भए युवाहरु विदेशिनु पर्दैन ।
यस्तै मेरा लागि यो ‘च्यालेन्ज’ हो, म सधैँ ‘च्यालेन्ज एसेप्ट’ गर्ने मान्छे हो । तपाईंले एउटा कुरा के लेख्नोस् भने मलाई एमालेको ऋण थियो, अहिले चुक्ता गरेँ। मान्छेहरूले एउटा कुरा के बुझेको छैन भने मनाङमा मेरो सहयोगमा एमालेले जितेको हो, एमालेको सहयोगमा मैले जितेको हो । हामी दुई टिम मिलेर मनाङमा चुुनाव जितेको हो । त्यसमा पनि अहिलेको मुख्यमन्त्रीजीले मलाई जिताउन सहयोग गर्नुभयो ।
उहाँका लागि मैले केही त गर्नैपथ्र्यो । मन्त्री भएर सहयोग गरेँ । कांग्रेसको सरकारमा गएको भए दुई वर्ष मन्त्री हुन्थेँ है, यो सरकारमा सायद १० दिन म हुँदिन होला । तर, मेरा लागि त्यो ठूलो कुरा होइन । मलाई कामसँग मतलब छ । एक–दुई सातामै म यस्तो काम गरेर जान्छु कि पछि आउने मन्त्रीहरूले त्यसलाई निरन्तरता दिनैपर्छ । म नेताहरूलाई सिकाउन चाहन्छु– मन्त्री भनेको पैसा कमाउन बन्ने होइन, देशलाई योगदान गर्न बन्न होे ।
Comments are closed.