Nepal's First Video FM

मन्त्रीहरु नै मान्दैनन नियम : कुल्चिँदै स्वास्थ्य मापदण्ड (हेर्नुहोस तस्बिरमा)

388

काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी बढेको भन्दै सरकारले अब अस्पतालहरुमा बेड उपलब्ध गराउन नसक्ने भन्यो।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमण रोकथामका उपाय अबलम्बन गर्न सबैलाई अपिल गर्‍यो। ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ,’ मन्त्रालयको अपिलमा भनिएको छ, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन हार्दिक अपिल छ।’

मन्त्रालयले यसरी जनतालाई अपिल गरिरहेको भए पनि सरकारका मन्त्रीहरु नै स्वास्थ्य प्रोटोकल र संक्रामक रोगसम्बन्धी ऐन २०२० विपरीत कार्य गर्दै हिँडेका छन्। मन्त्रीहरु सार्वजनिक कार्यक्रममा जाने क्रम रोकिएको छैन। उनीहरुले सामाजिक दूरी पालना गर्ने र मास्क लगाउने कार्य गरेका छैनन्।


शुक्रबार आयोजित कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठ।

कोरोना संक्रमण वढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरालगायतका अन्य उद्घाटन गरेको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री ओलीले बालुवाटारमा नेकपा एमालेको महाधिवेशन आयोजक समितिको वैठक बोलाएर २५ जनाभन्दा धेरै मानिस भेला हुन नमिल्ने भनी सार्वजनिक गरेको स्वास्थ्य प्रोटोकल उल्लंघन गरेका थिए।

कोरोना महामारी उच्च दरमा उकालो लाग्दै गर्दा कृषि तथा पशुपन्छी विकासमन्त्री पद्‍मा अर्याल विवाहमा सहभागी भइन्। उनी सहभागी भएर सार्वजनिक भएको तस्बिरमा उनले मास्क लगाएको देखिँदैन। सामाजिक दूरीको पालना त छँदै थिएन। शुक्रवार प्रकृति थापाको विवाह समारोहमा उनले आफैंले बनाएको स्वास्थ्य मापदण्ड उल्लंघन गरेकी हुन्।


विवाहमा सहभागी कृषिमन्त्री अर्याल।

त्यस्तै शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ पनि उस्तै अवस्थामा सार्वजनिक भए। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भर्चुअल’ रुपमा उद्घाटन गरेको कार्यक्रममा पुगेर शिक्षामन्त्री श्रेष्ठले मास्कविना र सामाजिक दुरी कायम नहुने गरी खिचेको फोटो सार्वजनिक भयो। यी दुई मन्त्रीको फोटोमाथि अहिले सामाजिक सञ्‍जालमा आलोचना भइरहेको छ। स्रोत नेपाल लाइभ

You might also like

Comments are closed.