Nepal's First Video FM

लुम्बिनीमा शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने एमाले संसदीय दलको निर्णय

299

बुटवल — मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै लुम्बिनी प्रदेशमा एमालेले एकल सरकार बनाउने गृहकार्य सुरु गरेको छ ।

मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएलगत्तै बसेको एमाले संसदीय दलको बैठकले संविधानको १६८ को १ बमोजिम एकल सरकार बनाउने निर्णय गरेको हो । एमाले प्रमुख सचेतक भूमीश्वर ढकालले एकल सरकारको मुख्यमन्त्री संसदीय दलका नेता शंकर पोखरेललाई नै तोक्ने निर्णयसमेत भएको बताए । ‘आजै मुख्यमन्त्रीको शपथ हुने गरी गृहकार्य अगाडि बढाइएको छ,’ उनले भने, ‘मुख्यमन्त्री नियुक्तिपछि बिस्तारै मन्त्रिमण्डल विस्तार हुनेछ ।

नयाँ सरकार गठनका लागि प्रदेशप्रमुख धर्मनाथ यादवले प्रदेशसभामा सहभागी दललाई आह्वान गनुपर्ने हुन्छ । प्रदेशप्रमुखको कार्यालयले आजै उक्त आह्वान गर्ने स्रोतले जनाएको छ ।

एमाले लुम्बिनीमा ४१ जना प्रदेशसभा सदस्य छन् । जसपाका ४ र माओवादीका २ सांसद निष्कासनमा परेपछि अहिले प्रदेशसभा ८१ सदस्यमा खुम्चिएको छ । सरकार बनाउन ४१ सदस्य आवश्यक पर्छन् जुन एमालेमा मात्रै छन् ।

एमाले संसदीय दलको बैठकमा ४० सदस्य उपस्थित थिए । कोभिड संक्रमणका कारण प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ भने उपस्थित थिएनन् । नयाँ राजनीतिक घटनाक्रमहरूबारे नयाँ रणनीति बनाउँदै एमालेले अन्य मन्त्रिमण्डल विस्तार गर्नेसमेत एमाले संसदीय दलको निर्णय छ ।

You might also like

Comments are closed.