काठमाडौं, । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेपछि सरकारको विरोध गरि बस्नेजति सबैलाई आनन्द भएको होला नि भन्ने टिप्पणी गरेका छन् ।
उनले मिसनवालालाई शुभकामना समेत भनेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रधानमन्त्री ओली हटाउन नसके वा जनतामा जानु परेमा उही किचकिच गर्ने होईन भन्दै विरोधीहरुलाई चेतावनी समेत दिएका छन् ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नु राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार भएकाे नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले टिप्पणी गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले आइतबार वैशाख २७ गते सोमबारका दिन अपराह्न १ बजे बैठक बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन बोलाएकी थिइन्।
उक्त सूचना जारी भएलगत्तै रावलले सामाजिक सञ्जालमार्फत् याे कदम प्रतिनिधि सभाको विघटनमा झैं संविधान मिच्ने कार्य भएकाे बताए।
‘यो प्रतिनिधि सभाको विघटनमा झैं संविधान मिच्ने कार्य हुनुका साथै हालको राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार हो।सबैमा चेतना भया!,’ उनले लेखेका छन्।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले अधिवेशन बोलाइएको जनाइएकाे छ।
सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७८ साल वैशाख २७ गते सोमबार अपरान्ह १:०० बजे अधिवेशन बोलाइएको हो।
Comments are closed.