Nepal's First Video FM

विश्वासको मतबाट प्रधानमन्त्रीलाई असफल बनाउने कांग्रेसको निर्णय, अध्यादेशको बिरोध गर्ने

269

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा विश्वासको मत लिन जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम षड्यन्त्रपूर्ण रहेको भन्दै त्यसलाई असफल पार्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल पार्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने भनेर चालेको कदम नै षड्यन्त्रपूर्वक रहेको पनि कांग्रेसको ठहर छ ।

बैठकपछि जानकारी दिँदै सहमहामन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् । उनले भने–‘‘विश्वासको मत लिनबाट ओलीजीलाई फेल गराउन लाग्ने निर्णय भएको छ, पहिलो लक्ष्य विश्वासको मत जुटाउनबाट रोक्ने हो।

त्यसपछि वैकल्पिक सरकार गठन गर्न अघि बढ्छौं । विश्वासको मत लिनबाट प्रधानमन्त्रीलाई फेल गराउन सकेसम्म प्रयास गर्छौं ।’

यस्तै नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको माओवादीको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको स्थायी समिति सदस्य गणेश साहले बताए।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेको पर्सिपल्ट माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

प्रधानमन्त्रीले आउँदो २७ वैशाखमा विश्वासको मत लिने भएका छन्। सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरिसकेकी छन्।

You might also like

Comments are closed.