काठमाडौँ । व्यवसायीहरूले सरकारसँग कर भुक्तानीको समय थपिदिन माग गर्दै पत्राचार गरेका छन् । निजी क्षेत्रका प्रतिनिधिमूलक छाता संस्थाहरूले हिजोआज दिनहुँजसो सरकारलाई पत्राचार गर्ने र विज्ञप्ति जारी गर्ने गरेका छन् ।
मंगलबार मात्रै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै कर बुझाउनुपर्ने म्याद थपिदिन भने ।
सरकारले तय गरेको समय तालिकाअनुसार हरेक महिनाको २५ गतेभित्र अघिल्लो महिनामा संकलित मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क र आयकरको अग्रिम कर कट्टीबापतको रकम बुझाउनुपर्छ । उक्त मिति पर सारिदिन व्यवसायीहरूको अनुरोध हो ।
‘कोभिड–१९ को नयाँ भेरिएन्टको संक्रमण रोकथामका लागि मुलुकको झन्डै दुई तिहाइ भूभागमा निषेधाज्ञा जारी छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसका कारण सरकारलाई बुझाउनुपर्ने राजस्वको विवरण तथा कर रकम भुक्तानीको समय थप गर्न माग गर्दछौं ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
Comments are closed.