Nepal's First Video FM

कांग्रेससँग प्रधानमन्त्रीले मागे विश्वासको मत, देउवाले भने- दिंदैनौँ

279

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्माओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेलगत्तै प्रधानमन्त्री ओलीले समर्थन जुटाउन दौडधूप थालेका छन् ।

माओवादी केन्द्रले बुधबार प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयलाई बुझाएको थियो । माओवादी केन्द्रले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा दर्ता गरेलगत्तै प्रधानमन्त्री बुधबार काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न दलबलसहित बुढानिलकण्ठ पुगेका हुन् ।

नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सुवास नेम्वाङ, विष्णु पौडेल र विष्णु रिमालसहित देउवा भेट्न बुढानिलकण्ठ पुगेका ओलीले बुढानिलकण्ठमा ठाडो जवाफ पाए– त्यो हो, ‘कांग्रेसले समर्थन दिँदैन, विपक्षमा मतदान गर्छ ।’

बैठकपछि नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गरेको बताए । जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको महतले बताए ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि कांग्रेस र एमालेले सँगै संघर्ष गरेको स्मरण गराउँदै आगामी दिनमा पनि सहकार्यको सम्भावना रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले नमिल्दासम्म संसदले नयाँ सरकार दिने सम्भावना नरहेकाले ‘मिलेर जान’ प्रस्ताव गरेका थिए ।

You might also like

Comments are closed.