काठमाडौं । निषेधाज्ञामा सरकारी अनुगमन नभएको फाइदा उठाउँदै ब्रोइलर कुखुराको मासु बेच्ने खुद्रा पसलेहरुले मनपरी मूल्य लिने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
काठमाडौं उपत्यकाका खुद्रा मासु पसलेहरुले होलसेलमा भन्दा प्रति केजी ७५ रुपैयाँ महँगो मूल्य लिने गरेको उपभोक्ताहरुले गुनासो गरेका हुन् ।
बुधबार काठमाडौं उपत्यकाका खुद्रा पसलमा ब्रोइलर कुखुराको तयारी मासुको कारोबार चार सय रुपैयाँमा भएको छ । तर राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार तयारी ब्रोइलर मासुको बुधबारको मूल्य अधिकतम् बिक्री मूल्य ३५० रुपैयाँ मात्रै हो ।
संघका उपाध्यक्ष श्रीय ढकालका अनुसार होलसेलहरुले अलि धेरै मासु लैजानेका लागि प्रतिकिलो ३२५ रुपैयाँ सम्ममा तयारी मासु बिक्री गरिरहेका छन् । जुन उपभोक्ताले बजारमा तिरेको मूल्य भन्दा प्रतिकिलो ७५ रुपैयाँले सस्तो हो ।
संघले बुधबारदेखि लागु हुनेगरी जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य किलोमा २० रुपैयाँले घटेर २५० रुपैयाँ तोकेको उपाध्यक्ष ढकालले बताए । ‘हिजोसम्म २७० रुपैयाँ थियो आजदेखि २५० रुपैयाँ भएको छ । उपभोक्ता तायारी मासुको मूल्य ३५० रुपैयाँ भन्दा बढी हुनुहुन्न,’ ढकालले भने ।
निषेधाज्ञा सुरु भएपछि मात्रै ब्रोइलर कुखुराको मासुको मूल्य दुई पटक घटेको पनि उनले बताए । वैशाख १७ र २२ मा गरेर दुई पटकमा जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य ४० रुपैयाँले घटेको उपाध्यक्ष ढकालको भनाइ छ ।
Comments are closed.