Nepal's First Video FM

नेपाल समूहमा छलफल बेस्त – वैशाख २७ अघि नै सांसदबाट सामूहिक राजीनामा ! सुसाइड गोल गरेर भएपनि ओलीलाई हराइछाड्ने

661

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेको अवस्थामा राजनीतिक रूपमा विभाजित रहेको नेकपा एमाले सग्लो रहला ?

यो प्रश्नमा केन्द्रित रहेर दुई विकल्पमा चर्चा भइरहेको बेला एकाएक तेस्रो तर राजनीतिक रूपमा उथलपुथल ल्याउन सक्ने नयाँ विकल्पबारे समेत छलफल शुरू भएको छ ।

अहिलेसम्म माधव नेपाल पक्षका सम्भावित दुई विकल्प थिए । पहिलो, प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने र पार्टी एकताको पक्षमा आफूहरू रहेको सन्देश स्थापित गर्ने ।

अनि दोस्रो, ओलीले यसबीचमा आफूहरूसँग संवाद र सहयोगको याचना नगर्ने र पार्टी एक बनाउन पहल नगर्ने हो भने संसदमै उपस्थित भएर विपक्षमा मतदान गर्ने वा अनुपस्थित हुने ।

तर माधव नेपाल समूहमा अब तेस्रो विकल्पमाथि समेत छलफल शुरू भएको छ । त्यो भनेको, ओलीलाई सत्ताच्यूत गर्न र उनकै नेतृत्वमा चुनावमा जान नदिन विपक्षी गठबन्धनलाई बहुमतमा पुर्‍याइदिने ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा नेकपा एमालेबाट फ्लोर क्रस भयो । एमालेका प्रकाश ज्वालासहित ४ प्रदेश सांसदले फ्लोर क्रस गरे । ती सबै माधव नेपाल पक्षका थिए । फ्लोर क्रसले शाही मुख्यमन्त्री कायमै रहे । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट यामलाल कँडेल मुख्यमन्त्री बन्नबाट रोकिए ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो । सत्ता जोगाउन गुरुङ्गले जनमोर्चाका खिमविक्रम शाहीलाई कोभिड आइसियू वार्डमा पुर्याएको चर्चा चल्यो । दिपक मनाङेलाई मन्त्री बनाए । तर, त्यहाँ माधव नेपालले अविश्वासको प्रस्ताव अगाडि बढेमा फ्लोर क्रससम्मको तयारी गरेका छन् ।

लुम्बिनी प्रदेशमा ओलीका विश्वासपात्र शंकर पोखरेललाई उनकै गृहजिल्ला दाङबाट धक्का लाग्यो । विमला खत्रीले एमाले छाडेर माओवादी रोजिन् । तर, पोखरेलले सुर्य चिन्ह लिएर उम्मेदवार बनेकाले एमाले छाड्न नमिल्ने जिकिर गरे । उनले एकल बहुमत दाबी नै गरे । त्यसपछि दाङकै एमाले सांसद अमरबहादुर डाँगीले राजीनामा दिए । डाँगी माधव नेपाल निकट हुन् ।

उनको राजीनामाले मुख्यमन्त्री पोखरेल अल्पमतमा परे । अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यसरी माधव नेपालले कुनैपनि रणनीति चालेर ओली र उनीनिकटलाई विफल बनाउन लागिपरेको सन्देश दिइसकेका छन् ।

संघीय संसदमा ओली विश्वासको मत लिन बढेका छन् । तर, उनले विश्वासको मत पाउन कठिन छ । ओलीले सबैभन्दा ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बन्ने रणनीति बनाएका छन् । तर, त्यो अवस्था अगावै उनलाई हटाउन माधव नेपालले १५ देखि २१ सांसदलाई राजीनामा दिन लगाएर भएपनि ओलीलाई रोक्ने तयारी गरिसकेका छन् ।

उनी पक्षधर प्रत्यक्ष निर्वाचित १५ सांसद सम्मले राजीनामा दिएमा काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र समूहबीच समिकरणलाई बहुमत पुग्छ ।
माधव नेपाल ओलीसँग ‘गर या मर’ को लडाईंमा प्रस्तुत भइसकेका छन् । उनले त्यसको सन्देश कर्णाली र लुम्बिनी प्रदेशमा दिइसकेका छन् । उनी कुनै हालतमा ओलीलाई प्रधानमन्त्री रहन नदिने गरी राजनीतिक जीवनकै कठोरतम कदम चाल्ने तयारीमा छन् ।

एमालेको सांसद भएर पनि एमालेकै संसदीय दलका नेताविरुद्ध मत दिन समेत तयारी अवस्थामा माधव नेपाल समूह सक्रिय भएको छ । सुसाइड गोल गरेर भएपनि ओलीलाई पराजित गर्ने रणनीतिमा नेपाल बढेका छन् ।

You might also like

Comments are closed.