काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले अहिलेसम्म अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको स्पष्ट पारेका छन् ।
पछिल्लो समय अध्यक्ष ओली र नेता नेपालबीच सहमति भएको र वार्ता भएको खबर आईरहेको बेला नेता नेपालको यस्तो भनाई आएको हो । हिजोमात्रै नेता नेपालले शितलनिवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए ।
कतिपय अनलाईनमा नेता नेपाल र ओलीबीच शितलनिवासमा भेटवार्ता भएको र राष्ट्रपतिको रोहबरमा सहमति भएको समाचार आएका थिए ।
नेता नेपालले भने सामाजिक सञ्जाल फेशबुकमार्फत त्यसबारेमा स्पष्ट पारेका छन् । उनले अहिलेसम्म कुनै सहमति नभएको र आफूहरु यसअघिको अडानमा यथावत रहेको पनि प्रष्ट पारेका छन् ।
उनले लेखेका छन्–”हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन ।
२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।”
Comments are closed.