Nepal's First Video FM

एमाले एकता धरापमा: माधव नेपाल समूहका सांसदले आइतबार राजीनामा दिने

नेपाल समूहमा ३५ जना सांसद छन्

404

काठमाडौँ । केही दिनदेखिको वार्ता र छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि अन्तत : नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुले आइतबार राजीनामा दिने भएका छन् ।

माधव नेपाल- झलनाथ खनाल समूहका नेता र सांसदहरुको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै राजीनामा दिने निर्णय गरेको पार्टी स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले २७ गते सोमबार विश्वासको मत लिनका लागि संसद बैठक बोलाएका छन् । कांग्रेस र माओवादीले ओलीलाई विश्वासको मत नदिने निर्णय यसअघि नै गरिसकेका छन् । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ निर्वाचित नेपाल समूहका २० जना सांसदले राजीनामा गरेपछि ओलीले विश्वासको मतमा बहुमत पाउने संभावना छैन ।

माधव समूहका सांसदले राजीनामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वैकल्पिक सरकार बन्ने सम्भावना पनि जीवित हुनेछ ।

एमाले बरिष्ठ नेता माधव नेपालले कान्तिपुरसँग कुरा गर्दै आफूहरुले प्रधानमन्त्री ओलीलाई सच्च्याउन निकै प्रयास गरेको तर उनी नसच्चिएको बताए । ‘हामीले पार्टी एकतालाई बचाउने प्रयास गरेका हौं तर उहाँले दम्भ देखाउनु भयो, कत्ति पनि सच्चिन तयार हुनुभएन,’ नेता नेपालले भने ।

नेपाल समूहका एक नेताका अनुसार सुरुमा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फका सांसदले मात्रै राजीनामा गर्ने कुरा भए पनि आइतबार समानुपातिक तर्फका सांसदले पनि राजीनामा गर्ने सम्भावना छ ।

नेपाल समूहमा ३५ जना सांसद छन् ।

You might also like

Comments are closed.