Nepal's First Video FM

अब देखि उपत्यकामा पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने

364

ठमाडौं । निषेधाज्ञा अवधीभर काठमाडौं उपत्यकास्थित खाद्यान्न तथा तरकारी बजारका पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने भएको छ ।

बिहान ९ बजेसम्म खोल्न पाइने नियमलाई परिमार्जन गर्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासनले १० बजेसम्म खोल्न पाइने निर्णय गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सर्वसाधारणको गुनासोलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको बताए ।

कोरोनाभाइरस संक्रमण रोकथामका लागि लगाइएको निषेधाज्ञालाई जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय पनि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुले गरेका छन् ।

यस्तै दाङमा किसानले उत्पादन गरेको गोलभेडा तीन रुपैयाँ किलोमा समेत बिक्री हुन छाडेको छ। गोलभेडा बिक्री नभएर किसानको खेत बारीमै कुहिन थालेको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियाका किसान शिशिर रावतले आफूले उत्पादन गरेको गोलभेडा तीन रुपैयाँ किलोमा लैजाउ भन्दा समेत ब्यापारीले लैजान नमानेको बताए।

गोलभेडाको मुख्य सिजनमै बिक्री नभएपछि खेतबारीमै कुहिन थालेको उनले बताए। ‘करिब दश कठ्ठा क्षेत्रफलमा हामीले गोलभेडा खेती गरेका थियौं,’ रावतले भने ‘अहिले बोटमै पाकेर कुहिन थालेको छ, तर किन्न कोही आउँदैन।’

बखरिया गाउँमा मात्रै किसानले गरेर २५ बिघा जति क्षेत्रफलमा गोलभेडा खेती गरेको र कसैको पनि बिक्री नभएर खेतबारीमै कुहिन थालेको रावतले बताए।

‘अहिलेको अवस्थामा किसानले ठूलो क्षति ब्यहोर्नुपर्ने अवस्था देखिएको छ,’ रावतले भने ‘हाम्रो मिहेनत र मल तथा बिउबिजन खरिद गर्दा भएको खर्च पनि उठ्ने अवस्था छैन।’

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १० मा विद्यालयको जग्गा भाडामा लिएर १० बिघा बढी क्षेत्रफलमा गोलभेडा लगायत तरकारी खेती गरिरहेका महेन्द्र खड्काले खेतबारीमै कुहिएर नाश भएको बताए।

‘निषेधाज्ञाले हामीजस्ता किसानको उठिबास लगाउने अवस्था छ,’ उनले भने ‘ मुख्य सिजनमै हामीले उत्पादन गरेको गोलभेडा र तरकारी बिक्री नभएर बारीमै कुहिन थालेको छ।’

उनले बजार लैजान नपाउँदा लाखौंको तरकारी नष्ट हुने अवस्था आएको भन्दै चिन्ता जनाए। ‘हामी किसानका दुःख पीडा बुझ्ने कोही भएन,’ उनले भने ‘बारीमै गोलभेडा कुहिएको देखेर मन रुन्छ।’

कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि त्यो रोकथाम र नियन्त्रणका लागि भनेर स्थानीय प्रशासनले वैशाख १७ गते बिहान ६ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गर्दै आएको छ।

पछिल्लो सयम फेरि त्यो अवधि बढाएर जेठ १ गतेसम्म पुर्याइएको छ।

You might also like

Comments are closed.