Nepal's First Video FM

यसरी नयाँ दल खोल्ने सहमति भयो : माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम बिच !

495

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्नबाट रोक्ने देखि नयाँ दल निर्माणसम्मको रणनीतिमा माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहमत भएका छन् । आज तीन नेता बसेर यस्तो सहमति बनाएका हुन् ।

विश्वस्त स्रोतका अनुसार आफ्नो समूहका २० प्रत्यक्ष निर्वाचित सांसदसहित २८ जनाको राजीनामा भोलि नै गर्ने र नयाँ दल दर्ताको प्रक्रियामा जाने सहमति समेत नेतात्रयले गरेका छन् । राजीनामा पत्र तयार भइसकेको र भोलि दर्ता गरिने बुझिएको छ ।

ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि नेपाल, खनाल र गौतम बसेर कठोर कदम चाल्ने निष्कर्षमा पुगेको स्रोतले रिपोर्टर्स नेपाललाई जानकारी दियो । उनीहरुले भावी रणनीति समेत तयार गरेका छन् ।

नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग राजनीतिक लेनदेन देखि भद्र सहमति गरेपछि खनाल र गौतमलाई ब्रिफिङ गरेका थिए । सहमति अनुसार प्रत्यक्षतर्फ राजीनामा दिने सांसदहरुलाई उपनिर्वाचनमा गठबन्धनको साझा उम्मेदवार बनाउने, सरकारमा ६ जना मन्त्री पाउने र चुनावी सरकारको नेतृत्व माधव नेपालले गर्ने विषय मुख्य छन् । सहमतिमा खनाल र गौतम सहमत भएपछि अगाडि बढ्ने निर्णय लिएका हुन् ।

नेतात्रय बसेर नयाँ दलको खाका समेतलाई लगभग अन्तिम रुप दिएका छन् । नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेकपा समाजवादी हुनेछ । अध्यक्षमा माधवकुमार नेपाल र बामदेव गौतम रहनेछन् । झलनाथ खनाललाई विशेष सम्मानित पद दिइनेछ ।

यसअघि २८ वैशाखमा रिपोर्टर्स नेपालले माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार शिर्षकमा नयाँ दल खोल्न तयार गरिएको खाकाको खुलासा गरेको थियो ।

दलको चुनाव चिन्ह सुर्य चिन्हभित्र पाँचवटा तारा राखेर मागिने तयारी भएको छ । जनताको बहुदलीय जनवाद नै पार्टीको सिद्धान्त रहनेछ ।

महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमध्ये दुईजनालाई राख्ने, उपमहासचिवमा गोकर्ण बिष्ट र योगेश भट्टराई रहने गरी तयारी भएको छ ।

७ उपाध्यक्ष र ७ सचिव रहने र अधिकांश युवाहरुलाई स्थान दिने तयारी भएको छ । महिलालाई पदाधिकारीमा बढी स्थान दिने गरी तयारी भएको बुझिएको छ । स्रोत रिपोटर्स नेपाल

You might also like

Comments are closed.