गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुन नियुक्त : भन्छन जनताको आशीर्वादले फेरि मुख्यमन्त्री भएँ
पोखरा । पुनःनियुक्ति पाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो प्रदेशलाई नेपालको उदाहरणीय प्रदेश बनाउने बताएका छन् । बुधबार साँझ शपथग्रहणपछि प्रक्रिया दिँदै उनले आफू जनताको आशीर्वादले फेरि मुख्यमन्त्रीको पदभार सम्हालेको बताए ।
नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरे पनि उनको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीको रूपमा गुरूङलाई पुनः नियुक्त गरेकी हुन् ।
संविधानको धारा १६८(३) अनुसार प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।
प्रदेश प्रमुख सिताकुमारी पौडेलले धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबभन्दा ठूलो पार्टीको संसदीय दलको नेताका हैसियतले उनलाई फेरि पनि मुख्यमन्त्री नियुक्त गरेको गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले सेतोपाटीलाई जानकारी दिए।
बुधबार राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनी विज्ञप्ति जारी गरेपछि प्रदेश प्रमुखको कार्यालयले कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीमा दावी नपुग्ने निश्कर्ष निकालेको हो।
विपक्षीदलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी थालेपछि गुरूङले यसअघि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीनदिनभित्र नयाँ सरकारको गठनका लागि बुधवार दिउँसो ४ बजेसम्म बहुमत पुर्याएर ल्याउन आह्वान गरेकी थिइन्।
प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले आजै आफूलाई अन्य तीनदलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेको थियो।
Comments are closed.