Nepal's First Video FM

भाइरल तस्बिर ल्याएको तरंग : ओली–नेपाल पक्षको वार्तामा खिचिएको थियो फोटो

366

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का दुवै पक्ष हिजो (शुक्रबार) वार्तामा बसे ।

वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेल थिए । यी त भए ओली पक्ष ।

अर्को पक्ष खनाल–नेपाल समूहबाट माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त थिए ।

एमालेको वार्तामा भर्खरै पार्टी प्रविष्ट भएका रामबहादुर थापा ‘बादल ल्याएको भनेर सुरुमै नेता नेपालले असन्तुष्टि जनाए ।

कार्यदल बनाएर विवाद समाधानको काम सुरु गर्ने प्रयोजनका लागि बसेको बैठक निष्कर्षविहीन अर्थात् फेरि पनि त्यही कार्यका लागि दुई शीर्षस्थ जुट्ने सहमति गरेर छुट्टिए ।

यो कुरा बाहिर दुवै पक्षले भन्न चाहेन । दुवै पक्षले वार्ता सकारात्मक रहेको र कार्यदल बनाउन अध्यक्ष ओली र नेता नेपाल भोलि अर्थात् शनिबार पनि बस्ने भन्दै बाहिरिए ।

प्रधानमन्त्री ओली पस्दै गर्दा घनश्याम भुसाल रघुजी पन्तसहितका नेताले ‘धनुष्टङ्कार’ नमस्कार गर्दै गरेको फोटो सार्वजनिक भयो ।

अहिले यो फोटोले राजनीतिक वृत्त तताइरहेको छ । अनेक टिकाटिप्पणी भइरहेको छ ।

सामाजिक सञ्जालमा आलोचित भएपछि एमाले नेता भुसालले प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको फोटो प्रचार गरिएको भन्दै असन्तुष्टि पोखेका छन्।

उनले ट्विटरमा लेखेका छन्- ‘हिजो एउटा बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको फोटो खुबै प्रचार भएको छ। समाजमा जान्ने बुझ्ने भनिएकाहरु पनि यस दौडमा देखिनु र त्यहाँ प्रधानमन्त्री कार्यालयका फोटोग्राफरबाहेक अरु कोही नहुनु संयोगमात्र हो वा होइन थाहा भएन।’

एमाले दुई कित्तामा विभाजित हुँदा दुवैपक्षका नेताहरुले एक-अर्काप्रति चर्को गालीगलाैज र टिप्पणी गरेका थिए। सोही कारण पनि अहिले नेताहरुको आलोचना भइरहेको छ।

तस्बिर कुन सन्दर्भमा खिचिएको हो भन्ने नबुझी टिप्पणी गर्ने जमात सामाजिक सञ्जालमा ठूलो छ। केही समयअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणका क्रममा भारतीय समकक्षीलाई नमस्कार गरेको तस्बिरमाथिको टिप्पणीलेसमेत सामाजिक सञ्जालका भित्ताहरु भरिएका थिए।

ज्ञवालीका समर्थकबाहेक कतिपय स्वतन्त्र व्यक्तिहरुले पनि नमस्कार गर्नु नेपालीको संस्कार भएको भन्दै सकारात्मक टिप्पणी गरेका थिए। अहिले एमाले नेताहरुको तस्बिरमा पनि सकारात्मक-नकारात्मक दु्वैखाले टिप्पणी गरेको देखिन्छ।

You might also like

Comments are closed.