Nepal's First Video FM

‘तीजको रहर आयो बरिलै’का गीतकार तथा निर्देशक चेतनको निधन

369

काठमाडौँ वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ। कोरोना भाइरसबाट संक्रमित भइ विगत एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको वीरेन्द्र शैनिक अस्पताल छाउनीमा बिहान १० बजेर २५ मिनेटमा निधन भएको छोरा पंकज कार्कीले जानकारी दिए।

चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा जीवनभर सक्रिय रहेका कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो। उनको विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्म भएको थियो।

नेपालीसहित हिन्दी तथा उर्दू भाषामा साहित्य सिर्जना गरेका कार्कीको जन्म स्याङ्जाको वाँटरी गाउँमा भएको थियो।

उनका तिजको रहर आयो बरिलै, दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, बुझ्नै सकिनौँ तिमिले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा (राष्ट्रिय चलचित्र पुरस्कार पाएको, २०४३ सालमा), छोरीको जन्म हारेको कर्म, अंग अंगमा तरंग बोकी, बैनीको दया छ भने सहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीतहरु लोकप्रिय छन्।

उनका गीतहरु नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानसहितले गाएका छन्।

आत्मा बेचेको छैन, ढलेको गिलासँ, हनिमुन–उपन्यास, बसिबियाँलो–कथासंग्रह, माया पिरतीको कथा, जुन निदाउन थाल्यो–गीत संग्रह, कल्पना टुट चुकी है (हिन्दी कविता), दिल गिजर के टुकडे (हिन्दी उर्दू कविता) सहित प्रकाशित छन्।
उनको निर्देशनमा बनेका चलचित्रहरु विश्वास, भूमरी, पहिलो प्रेम हुन्। उनले विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट नेपाली चलचित्रमा प्रवेश गरेका थिए। उनका दुई छोरा पारस र पंकज कार्की तथा श्रीतमी गंगा कार्की छन्।

You might also like

Comments are closed.