काठमाण्डाै, गएको २४ घण्टामा देशभर सात हजार तीन सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१९ हजार पाँच सय ३९ जनाकाे पीसीआर र तीन सय ४४ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा सात हजार तीन सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै यो अवधिमा काठमाण्डौ उपत्यकामा दुई हजार ६ सय नाै जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा एक हजार आठ सय ८१, भक्तपुरमा दुई सय ९२ र ललितपुरमा चार सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको हाे ।
२४ घण्टामा साढे ६ हजारभन्दा धेरै जना काेराेना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका छन् । अहिले नेपालमा निको हुने दर ७४ दशमलव ६ प्रतिशत पुगेको छ ।
नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार दुई सय ६३ छ ।
यस्तै थप एक सय ४५ जनाको काेराेना सङ्क्रमणका कारण ज्यान गएको छ ।
यसै बीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको जसरी कोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिएला भन्ने आफूलाई नलागेको बताएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार सिंहदरबारमा बसेको बैठकलाई सम्बोधन गर्दैं ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै बलियो रहेकाले यो संक्रमण फैलिँदैन भन्ने आफूलाई लागेको बताएका हुन् ।
‘यस रुपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम (रोग प्रतिरोधात्मक प्रणाली) धेरै स्ट्रोङ छ, त्यसकारण हाम्रोमा अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन भन्ने लाग्या थियो,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।
कोरोनाको दोस्रो लहर चलिरहेको नेपालमा दैनिक करिब ९ हजार व्यक्तिमा संक्रमण देखा परिरहेको छ । पछिल्लो समय दैनिक २ सयभन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाइरहेका छन् । कतिपयले अक्सिजन पाउन नसकेर ज्यान गुमाउनुपरेको छ ।
यस्तो अवस्थातर्फ इंगित गर्दै प्रधानमन्त्रीले कोरोनाले नेपालमा यस तहको प्रभाव पार्ने आफूले नठानेको बताएका हुन् । उनले गत वर्ष कोरोनाको पहिलो लहर चल्दा संसद्देखि सार्वजनिक मन्तव्यमा नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले धेरै प्रभाव नपर्ने दाबी गर्दै आएका थिए ।
त्यस्तै, बेसार पानी, अम्बाको पात उमालेर ‘गार्गल’ गर्दा कोरोना निको हुन्छ भन्ने भनाइ उनले पटक पटक दोहोर्याएका थिए । उनले नेपालीले हिमालबाट बग्ने जडिबुटी पखालेर आएको औषधीय गुण भएको पानी पिउने भएकाले पनि कोरोनाले प्रभाव नपार्ने मन्तव्य संसद्मा नै दिएका थिए ।
अहिले आएर प्रधानमन्त्री ओलीले कोरोनाले यसरी प्रभाव पार्ला भन्ने आफूलाई नलागेको अभिव्यक्ति दिएका हुन् । कोरोना संक्रमणबाट मुक्त हुनुमा रोग प्रतिरोधात्मक प्रणाली बलियो हुनु नै रहेको ओलीले दोहोर्याएका छन् ।
‘जति मान्छे निको भएका छन् त्यसमा पनि इम्युन सिस्टमको भूमिका छ,’ उनले भने ।
कोरोना संक्रमण नियन्त्रणमा विभिन्न सरकारी निकायबीच समन्वयको अभाव देखिएको प्रधानमन्त्री ओलीले स्वीकारेका छन् । आगामी दिनमा त्यसमा सुधार गरिने पनि उनले बताएका छन् । ‘सरकारको तर्फबाट कोअर्डिनेसनको अभाव देखियो ।
त्यसकारण कोअर्डिनेसनको प्रभावकारी व्यवस्था गरिनेछ । कुनै पनि क्षेत्रमा कोअर्डिनेसन गरिनेछ,’ उनले भने ।
Comments are closed.