Nepal's First Video FM

चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर- सांसदले लगे !

408

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको ४०० अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाले १३ वटा अस्पताललाई भाग लगायो । तर अधिकांश अस्पतालले विभागले तोकेअनुसार चिनियाँ सिलिन्डर नपाएको भेटिएको छ ।

नेकपा एमालेका सांसदहरुले राजनीतिक पहुँचका आधारमा आफ्नो निर्वाचन क्षेत्रमा भएको अस्पताल तथा आइसोलेसन सेन्टरमा ती सिलिन्डर लगेका छन् ।

दाङमा मात्र एमाले सांसदहरुले २७ वटा अक्सिजन सिलिन्डर लगेको पाइएको छ । सांसद शान्ता चौधरी र हिराचन्द्र केसीले १०-१० वटा र गंगा चौधरी सत्गौवाले ७ वटा चिनियाँ अनुदानका अक्सिजन सिलिन्डर लगेको पाइएको छ ।

एमाले सचेतक समेत रहेकी शान्ता चौधरीले अनलाइनखबरसँग भनिन्, ‘हामी जनप्रतिनिधि हौं, जनताले खोजिरहेका छन् । त्यसैले सिलिन्डर लगायतका स्वास्थ्य सामग्री लिएर जाँदैछौं ।’ सम्बन्धित अस्पतालबाट आएको माग फारमअनुसार स्वास्थ्य मन्त्रालयले सिलिन्डर उपलब्ध गराएको उनले बताइन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पतालका नाम राखेर लगिएका सिलिन्डर कसले कति पाउँछन् भन्नेबारे निर्क्योल नभएको चौधरीले बताइन् । उनले सिलिन्डर आफूहरुको लागि नभई निर्वाचन क्षेत्रका जनताको लागि भएको बताइन् ।

अर्की सांसद गंगा चौधरीले सिलिन्डरहरु लमहीस्थित कोभिड आइसोलेसन सेन्टरमा दिएकी छन् । अस्पतालको माग फारमअनुसार स्वास्थ्य विभागले अक्सिजन सिलिन्डरहरु दिएको भन्दै उनले भनिन्, विभागको भर्पाइ लगायतका सबै प्रमाण मसँग छ ।

You might also like

Comments are closed.