Nepal's First Video FM

संक्रमणको बढेसँगै शिक्षा क्षेत्रमा नकारात्मक असर: कोरोनाबीच कसरी सम्भव होला परीक्षा ?

368

काठमाडौं । कोभिड–१९ संक्रमणको दोस्रो लहर बढेसँगै शिक्षा क्षेत्रमा नकारात्मक असर परेको छ ।

तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असारमा नयाँ शैक्षिकसत्र सुरु गर्ने गरी पुरानो शैक्षिकसत्र सकाउन भनेपछि केही स्थानीय तहले जेठमै परीक्षा गराउन विद्यालयलाई निर्देशन दिएका छन् ।

कोरोनाको दोस्रो लहरले सबैभन्दा प्रभावितमध्येको एक काठमाडौं महानगरपालिकाले जेठमै परीक्षा गराउन निर्देशन दिएको छ । महानगरमा ६४० संस्थागत र ९१ सरकारी विद्यालय छन् ।

तर, यस्तो विषम परिस्थितिमा परीक्षा गराउन व्यावहारिक नभएको एन प्याब्सनका अध्यक्ष रितुराराज सापकोटा बताउँछन् । “निषेधाज्ञा हुन्छ भनेर बालबालिका गृहजिल्लामा छन् । काठमाडौंमा अधिकांश विद्यार्थी बाहिरकै हुन् । ज्यानकै डर भइरहेको बेला परीक्षा कसरी लिने ?,” उनी प्रश्न गर्छन्, “कति विद्यालयले माघदेखि पठनपाठन सुरु गरेका छन् । कोर्स नै नसकी परीक्षा लिनु कति उचित ?”

यस्तै, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा सापकोटासँग सहमति राख्छन् । उनले आम अभिभावकको चाहना न्यूनतम सिकाइ उपलब्धताको सुनिश्चितता भएको बताए । परीक्षा गर्न हतार गर्ने परिस्थिति नभएको उनको बुझाइ छ ।

उनले भने, “कतिपय स्थानीय तहले परीक्षा गर भनिसक्यो । कतिपय विद्यालयले परीक्षा लिइसके । लकडाउनले एक त शैक्षिकसत्र पूरा हुन सकेको छैन भने पाठ्यक्रमलाई संक्षेपीकरण गरिएको छ ।” कतिपय विद्यालयले कोर्स सकाउनको लागि सकाएर परीक्षा लिनु ठगी भएको उनको आरोप छ ।

यस्तै, वैकल्पिक विद्यालय सञ्चालन निर्देशिका–२०७८ जारी गर्नेलगायत माग राखी वैशाख ११ मा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको उनले बताए ।

तर, परीक्षाको मूल्यांकन कुनै पनि विधिबाट गर्न सूचना जारी गरिएको काठमाडौं महानगरको शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले बताए । गृहजिल्लामा भएका विद्यार्थीलाई टेलिफोन, अनलाइन या इमेलबाट परीक्षा लिन सकिने उनले बताए ।

कुनै मोडेल काम नलागेमा पछिल्लो परीक्षामा पाएको नतिजाको आधारमा मूल्यांकन गर्न सुझाव दिइएको उनको भनाइ छ । उनले अधिकांश निजी विद्यालयले परीक्षा लिइसकेको दाबी पनि गरे ।

यही जेठ २० गतेसम्म परीक्षा गर्न र जेठ मसान्तसम्म नतिजा प्रकाशित गर्न विभागले सूचना जारी गरेको थियो । एसईईबाहेकको परीक्षा लिइ असारमा नयाँ शैक्षिकसत्र सुरु गर्न मन्त्रालयले निर्देशन दिएको थियो ।स्रोत १२ खरी

You might also like

Comments are closed.