Nepal's First Video FM

यी हुन् १५ हजारको अक्सिजन सिलिण्डर ४१ हजारमा बेच्ने

301

काठमाडौं– अक्सिजन सिलिण्डरको कालोबजारी गर्ने ३ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। ललितपुरमा अक्सिजन सिलिण्डरको कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा नुवाकोटको विदुर नगरपालिका–३ घर भइ ललितपुरको सातदोबाटो बस्दै आएक ३९ वर्षीय रामकृष्ण घिमिरे, मकवानपुरको हेटौंडा–६ घर भइ ललितपुरको लगनखेल बस्दै आएका ४२ वर्षीय नवराज खनाल र धादिङको गल्छी–२ घर भइ ललितपुरको इमाडोल बस्ने ४२ वर्षीय रामशरण अधिकारी छन्।

नीहरुले १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिण्डरलाई ४१ हजार रुपैयाँमा बेचेको पाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।

प्रहरीले उनीहरुको साथबाट भरिएको १ थान अक्सिजन सिलिण्डर, ४१ हजार नगद र ग्याँस कम्पनीबाट ग्यास भरिएका ४ थान रसिद बरामद गरिएको पनि जानकारी दिएको छ।

यस्तै नयाँ भेरियन्टसहितको कोरोना महामारीसँगै अहिले अस्पतालमा अक्सिजन अभाव छ । यो अभाव टार्न निजी क्षेत्रले पनि सिलिन्डर खरिद गरेर सरकारलाई साथ दिइरहेका छन् ।

निजी क्षेत्रले ९ हजार ८ सय ५ अक्सिजन सिलिन्डर र ५ हजार अक्सिजन व्याग नेपाल ल्याइरहेका छन् । सरकारले चीनबाट २० हजार, निजी क्षेत्रले ९ हजार ८ सय ५० र विभिन्न देशमा बसोबास गरिरहेका नेपालीले करिब ५ हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउँदै छन् । सरकार, निजी क्षेत्र र विभिन्न देशमा बसेका नेपालीले गरी करिब ३५ हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउन लागेका हुन् ।

स्वास्थ्य मन्त्रालायका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयले चीनबाट १ हजार ३ सय अक्सिजन सिलिन्डर ल्याइसकेको र अब बाँकी रहेको १८ हजार ७ सय अक्सिजन सिलिन्डर पनि आउने क्रममा रहेको बताए ।

गौतमले भने, ‘पहिलो पटक ५ सय र दोस्रो ८ सय गरी १ हजार ३ सय अक्सिजन सिलिन्डर नेपाल आइसकेको छ । अब बाँकी रहेको सिलिन्डर पनि दैनिक रुपमा आउने छ ।’

व्यापारीले खरिद गरेको सिलिन्डर तातोपानी नाकामा ।
एभेरष्ट अक्सिजन उद्योगका सञ्चालक शिवप्रसाद घिमिरेले ७ हजार ५० वटा अक्सिजन सिलिन्डर चीनबाट नेपाल ल्याउँदै छन् । सँगै ५ हजार अक्सिजन व्याग पनि ल्याउँदै छन् ।

घिमिरेले भने, ‘अक्सिजन सिलिन्डर अब १ /२ दिनमा नेपाल आइपुग्छ । ५ हजार अक्सिजन व्याग पनि आइपुग्दैछ आज नै नेपाल आइपुग्नेछ । चीनमा परल मूल्य र ढुवानी खर्च जोडेपछि मात्र नेपालमा बिक्री मूल्य भन्न सकिन्छ ।’

घिमिरेका अनुसार यसभन्दा पहिले नेपालमा अक्सिजन व्याग प्रयोगमा अएको छैन । अक्सिजन प्रयोग गर्नुपर्ने बिरामीले अक्सिजन मास्कको माध्यमबाट आफूसँगसँगै लिएर जान सक्ने उनले बताए ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपककुमार मल्होत्रा पनि चीनबाट २ हजार ८ सय अक्सिजन सिलिन्डर ल्याउँदै छन् । भोलि वा पर्सिमा ती सामग्री आइपुग्ने उनले जानकारी दिए ।

उनले भने, ‘सरकार, निजी क्षेत्र र विभिन्न संघसस्थाले गरी करिब ३५ हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउँदै छन् । यो अभाव आएपछि धेरै हदसम्म अभाव टर्छ । नेपाल आइपुग्दा प्रति सिलिन्डर १३ हजार पर्न जान्छ ।’

You might also like

Comments are closed.