बुटवल । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्रहार गरेको हो ।
कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए । पाण्डेको अवस्था मध्यम रहेको उनले बताए ।
निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गोली चलाएको डीएसपी भण्डारीले बताए । गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।
यस्तै मोरङ प्रहरीले श्रीमती हत्याको अभियोगमा श्रीमानसहित परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ ।
मोरङको रंगेली नगरपालिका–३ की २४ वर्षे अनिता यादवको हत्या अभियोगमा श्रीमान बेचन यादव, ससुरा, सासु र देवर विनोद यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । अनिताको आज बिहान रङ्गेली–३ स्थित तिलुवा चोक नजिकको नहरमा शव फेला परेको थियो ।
घरदेखि करिब डेढ किलोमिटर दक्षिणमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा अनिताको शव फेला परेपछि घटनाको अनुसन्धानका लागि अनिताका श्रीमानसहित परिवारका अन्य सदस्यलाई नियन्त्रणमा लिएको एसी खड्काले बताए ।
उनले घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालेको पनि जानकारी दिए । तर पनि अहिले नै उनको कसले हत्या गरेको हो भन्ने बारेमा अनुसन्धानपछि मात्र भन्न सकिने उनले बताए ।
तेस्तै नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मङ्गलबार विवाद भई घाँटी अगाडिको भागमा धारिलो हतियार दाउले हानेर हत्या गरेको प्रहरी प्रवक्ता मानबहादुर राईले आज जानकारी दिए ।
अभियुक्तलाई बिहीबार बिहान रङ्गेली प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
Comments are closed.