हेटौंडा, बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान प्रक्रिया हेटौंडामा सुरु भएको छ ।
आज विहीबार हेटौंडा उपमहानगर वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा मतदान सुरु भएको हो । विहान ९ बजेबाट सुरु भएको मतदानमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल सहित प्रदेश सभाका सदस्य, गाउँ/नगरपालिकाका प्रमुख/उपप्रमुख लामबद्ध भई मतदानमा सहभागि जनाइरहेका छन् ।
मतदान केन्द्रमा उम्मेदवारहरु गृहमन्त्री राम बहादुर थापा (बादल), डा. खिमलाल देवकोटा र कृष्ण बहादुर तामाङको उपस्थिती रहेको छ ।
मतदान गर्न विद्यालयको पूर्वपट्टिको गेटलाई कोरोना पोजेटिभ मतदाताले प्रयोग गरिएको छ भने पश्चिमतिरको गेटलाई अन्य मतदातालाई प्रवेश गराइएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो ।
मतदान दिउँसो ३ बजे सम्म हुनेछ भने साँझ सम्ममा नतिजा प्रकाशन गरिने अधिकृत श्रेष्ठले बताउनुभयो । भोट खसाल्न तीनवटा बुथको व्यवस्था गरिएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्नेछन् ।
यस्तै कोरोनाभाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि ‘ग’ बुथको व्यवस्था गरिएको छ ।
बागमती प्रदेशसभा सदस्य ११० जना मध्ये एक सदस्यको मृत्यु भएको छ भने प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना मतदाता रहेका छन् ।
प्रदेश सभा सदस्यको एक मतको संख्या ४८ हुनेछ भने स्थानीयतहका प्रमुख/उपप्रमुखको एक मतको संख्या १८ गणना हुने निर्वाचन आयोगले जनाएको छ ।
यसै बीच विवेकशील साझा पार्टीले आज हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा भोट नहाल्ने भएको छ ।
विवेकशील साझाले नो भोट लागू गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न पनि माग गरेको छ ।
यो निर्वाचनमा विवेकशील साझाले आफ्नो उम्मेदवार खडा गरेको छैन । यद्यपी विवेकशील साझाका तीन जना प्रदेशसभा सदस्यहरू मतदाता छन् ।
विवेकशील साझाको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौडेलले एक विज्ञप्ति जारी गर्दै भोट नहाल्ने जानकारी दिएका हुन् ।
उनले चुनावी मैदानमा प्रतस्पर्धारत तीनै जना उम्मेदवारबाट राष्ट्रिय सभामा आफूहरूले अपेक्षा गरेको भूमिका निर्वाह हुने आश्वस्त हुन नसकेकाले भोट नहाल्ने निर्णय भएको जानकारी दिए ।
Comments are closed.