काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने तयारीमा रहेको नेपाली कांग्रेसले विपक्षी गठबन्धनसँग छलफल गर्न लागेको छ ।
कांग्रेस पदाधिकारी बैठक लगत्तै सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न लागेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेपछि चाल्ने कदमबारे उनीहरुबीच छलफल भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बेलामा कांग्रेस, माओवादी, एमालेको नेपाल पक्ष र जसपाको उपेन्द्र–बाबुराम पक्षको गठबन्धन बनेको थियो । ओलीले विश्वासको मत लिन सकेका थिएनन् । तर दलहरुले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत पनि जुटाउन नसकेपछि हाल संसदको सबैभन्दा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री छन् ।
तर, प्रधानमन्त्री ओली पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक हुने भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको आलोचना हुँदै आएको छ ।
नयाँ सरकारको विकल्प दिने समय घर्किंदै जाँदा नेताहरुको व्यस्तता बढेको छ । कांग्रेसले विहानै पदाधिकारी बैठक बसाएर सम्भावित सबै विकल्पमा दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीसँग निकट रहेको जसपाको महन्थ–राजेन्द्र पक्षले पनि आफ्ना सांसदहरुसँग छलफल गरेको छ ।
Comments are closed.