Nepal's First Video FM

मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि मध्यरात नै रोज्ने गर्थे: वर्षमान पुन

252

काठमाडौँ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले मध्यरातमा संसद विघटन गरेर डकैती गरिएको बताएका छन् ।

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि गरिएका दुबै दाबी खारेज गर्ने निर्णय लगत्तै नेता पुनले सो प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यस्ता असंवैधानिक र निरंकुश कदम चाल्न मध्यरातको समय रोज्ने गरेको भन्दै पूर्वमन्त्री पुनले मध्यरातमा संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरिनु आपत्तिजनक भएको बताएका छन्।

पुनले ट्वीटरमा लेखेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’

यसै बीच राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।
उहाँले नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति पनि तोक्नुभएको छ ।

शुक्रबार मध्यरात बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेको एक घन्टाभित्रै राष्ट्रपति कार्यालयले राति १ बजेर ५० मिनेटमा संसद भंग र नयाँ निर्वाचन मितिको घोषणासहित विज्ञप्ति जारी गरेको हो ।

मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६–५ अनुसार सरकार गठन हुन नसकेको भन्दै धारा ७६–७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

संविधानको धारा ७६–७ बमोजिम प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन २०७८ कात्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मंसिर ३ गते शुक्रबार सम्पन्न हुने गरी मिति तोक्न मन्त्रिपरिषदबाट निर्णय भई सिफारिस गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

उक्त सिफारिसबमोजिम वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने गरी मिति तोकिएको पनि राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि शुक्रबार मध्यरातै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६–५ अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबैले पेश गरेको दाबी नपुगेको ठहर गर्नुभएको थियो ।

दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रूपमा नमिलेको निर्णय राष्ट्रपतिले लिनुभएको थियो ।

You might also like

Comments are closed.