काठमाडौं– लोकप्रिय गायक रामकृष्ण ढकालले आफ्नो देशका लागि सांगीतिक कार्यक्रमको क्रममा अमेरिका पुगेका छन् ।
गायक ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालका कोरोना संक्रमितको उपचारमा सहयोग पुग्ने उदेश्यले अमेरिकामै बसोबास गर्ने नेपालीाट संकलन गरेर करिव १८ लाख रुपैयाँ नेपाल पठाएका छन् ।
गायक ढकालले उक्त रकम नेपाली वैज्ञानिक महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा जम्मा गरिएको जानकारी गराएका छन् ।
त्यसका बारेमा जानकारी दिँदै गायक ढकालले लेखेका छन् –‘हामी सबै नेपालीको जन्मभूमी नेपालमा कोरोना महामारीको कहर मच्चिँदा अक्सिजन सिलिण्डरको अभावमा हजारौको ज्यान गइरहेको तीतो यथार्थ हामी सबैको सामु छर्लङ्गै छ । नेपालमा यस्तो विषम परिस्थिति हुँदा म भने सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु ।’
‘म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु-भाइ तथा दिदी-बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो, गायक ढकालले लेखेका छन्–‘उहाँहरू नेपालमा कोरोनासँग जीवन-मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता-दर्शकमाझ सहयोगको आह्वान गरेको थिएँ ।’
‘मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ’, गायक ढकालले लेखेका छन्–‘त्यसक्रममा पहिलो चरणमा जम्मा भएको १५ हजार २ सय ८८ अमेरिकी डलर अर्थात करिब १८ लाख नेपाली रुपैयाँ अहिलेको विषम परिस्थितिमा पनि निस्वार्थ भावले नेपाली जनजनको सेवा गरिरहनु भएका आदरणीय वैज्ञानिक अभियन्ता श्री महावीर पुनज्यूको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायर मार्फत जम्मा गरिएको व्यहोरा यहाँहरू सबैमा अवगत गराउन चाहन्छु ।’
गायक ढकालले अझै पनि केही मनकारी महानुभावहरूले सहयोग रकम प्रदान गर्ने वचन दिनु भएको तथा त्यो रकम प्राप्त भएमा नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याइरहेका अन्य आदर्श व्यक्तित्वहरूबाट स्थापित संस्थाहरूमार्फत् सहयोगका लागि पठाइने जनाएका छन् ।
गायक ढकालले अहिलेसम्म उनको अभियानमा साथ दिने मनकारीहरूको नाम र उनीहरुले उपलव्ध गराएको सहयोग रकमको समेत उल्लेख गरेका छन् ।
गायक ढकालले यो कार्यमा सहयोग गर्ने सबे मनकारी महानुभावहरूमा आफ्नै तर्फबाट र उनीहरको सहयोगबाट आफ्नो कोरोना पीडामा मल्हम लगाउन पाउनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीका तर्फबाट हार्दिक आभार प्रकट गरेका छन् ।
गायक ढकाल स्वयंले उक्त अभियानमा ५ सय अमेरिकी डलर जम्मा गरेका छन् ।
Comments are closed.