नेपाल प्रहरी अस्पताले सारा नेपाली लाई खुसी बनायो, ३ हजार भन्दा बढी सङक्रमित बिरामीले पाए निःशुल्क उपचार
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण एवम् उपचार व्यवस्थापनमा नेपाल प्रहरी अस्पताल सक्रिय रहेको छ ।
निषेधाज्ञा कार्यान्वयन तथा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा अहोरात्र ड्यूटीमा खटिने प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षा एवम् कोभिड–१९ बाट संक्रमण भएको अवस्थामा उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, साधनश्रोत तथा जनशक्तिको व्यवस्थापन, थप बेड तथा आकस्मिक उपचारको व्यवस्था गरी अस्पतालले सक्रियता बढाएको हो ।
हालसम्म ३ हजार १ सय ४१ जना कोभिड सङक्रमित बिरामीले नेपाल प्रहरी अस्पतालमा निःशुल्क उपचार सेवा लिई डिस्चार्ज भएका नेपाल प्रहरीका प्रवक्ता समेत रहेको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म उपचाररतमध्ये ९२ प्रतिशत प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवारले सेवा प्राप्त गरेका छन् । उपचारको क्रममा ७३ जनाको मृत्यु भएको प्रवक्ता कुँवरले बताए ।
अस्पतालले अहिलेसम्म १७ हजार ३ सय ६४ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ । परीक्षण गरिएकामध्ये ४ हजार ३ सय ६९ जनामा सङक्रमण पुष्टि भएको छ ।
अहिले अस्पतालमा कोभिडबाट सङ्क्रमित १ सय ८७ जना भर्ना लिई निःशुल्क उपचार भईरहेको छ । उपचाररतमध्ये ३० जना आईसियुमा, ८० जना एचडियू अर्थात हाई डिपेन्डेन्सी यूनिटमा र ७७ जना सामान्य अवस्थाका रहेका छन् । उपचाररतमध्ये प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी १ सय ३३ जना तथा ५४ जना सर्वसाधारण नागरिक रहेका छन् । अस्पतालको साथै महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंज, महानगरीय प्रहरी पहरा गण सामाखुशी र विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा समेत आइसोलेशनमा राखी उपचारको व्यवस्था गरिएको छ ।
नेपाल प्रहरी अस्पतालमा साविक १ सय ५० वेड रहेको थिए । अस्पताललाई लेवल २ मा स्तरोन्नति गरिएपछि १ सय ५० बेड थप गरी जम्मा ३ सय वेड उपलब्ध छन् । ती मध्ये २ सय ६४ कोभिड र ३६ नन कोभिड बिरामीको लागि प्रयोग भएको छ । कोभिडतर्फको २ सय ६४ मध्ये १ सय ५४ साधारण, ८० एचडियू र भेन्टिलेटर सहितका २० तथा भेन्टिलेटर बाहेकका १० गरी ३० आईसियु वेड रहेका छन् ।
स्रोत नेपाल प्रेस
Comments are closed.