काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोरोना-१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड-१९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोभिड संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता गर्ने गरि काम गर्न निर्देशन दिएका हुन् ।
उनले कोभिड १९ नियन्त्रणसम्बन्धी र सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादेशले सम्पुर्ण प्रक्रियागत जटिलताहरूको समाधान गरेको भन्दै कोभिड व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ कामअघि बढाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।
प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सचिव बराले भने “खोपको उपलब्ध गर्नुपर्नेमा जोड दिनुभएको छ । खोप कहाँबाट ल्याउने हो र कसरी ल्याउने हो । नागरिकहरुलाई खोप दिनुपर्छ । खोपको प्रभावकारीता देखिएकोले पहिलो प्राथमिकता भनेको खोप हो ।
खोपपछि स्वास्थ्य सामाग्रीहरुको अभाव देखिएको छ र ती सामाग्रीहरू पनि नेपाल सरकारले गरेको आव्हान अनुसार विभिन्न देशबाट उपलब्ध भएका छन् र उपलब्ध भएका सामाग्रीहरूको यथार्थ विवरण राखेर समानुपातिक र न्यायपुर्णरुपमा अस्पतालहरुमा वितरण गर्न निर्देशन भएको छ । ”
आवश्यक ऐन नियम नभएका कारण समस्या भए पनि अब सबै समस्याको सम्बोधन भएकोले ढिला गर्ने छुट नभएको भन्दै प्रधानमन्त्रीले एक्सनमा जान कोरोना-१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिए । सार्वजनिक खरिद ऐन र नियमावलीमा देखिएका समस्यालाई सहज गराउन अध्यादेश ल्याएको र अध्यादेशले सबै बाटो खोलेकाले कुनै अलमल नगरी काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएको सचिव बरालले बताए ।
कोभिड १९ निर्देशक समितिको पहिलो बैठकमा कोरोना १९ व्यवस्थापन केन्द्रका पदाधिकारी उपस्थिति थियो ।
सोमबार सरकारले कोरोना-१९ व्यवस्थापन केन्द्रका प्रमुखमा अवकासप्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरेको थियो । उनले मंगलबार देखि नै आफ्नो जिम्मेवारी सम्हाल्दै बैठकमा सहभागी भएका थिए । स्रोत इकागाज
Comments are closed.