Nepal's First Video FM

नेपालमै तयार अक्सिजन सिलिन्डरको परीक्षण सकियो: व्यावसायिक उत्पादनका लागि खुला गर्ने तयारी

186

काठमाडौँ, नेपालमै तयार पारिएको अक्सिजन सिलिन्डरको दुवै चरणको परीक्षण सकिएको छ ।

नेपाल विज्ञान तथा प्रतिष्ठान (नास्ट) को अगुवाइमा नेपालमै तयार पारिएको अक्सिजन सिलिन्डरको दोस्रो परीक्षण पूर्ण रूपमा सफल भएको यसको अगुवाइ गरिरहेका नास्टका वरिष्ठ प्राविधिक अधिकृत शंकर ढकालले जानकारी दिए ।

सिलिन्डरको दोस्रो चरणको परीक्षण सफल भएपछि निजी क्षेत्रलाई पनि व्यावसायिक उत्पादनका लागि खुला गर्ने तयारी भइरहेको उनले बताए ।

नास्ट परिसरमा आइतबार राति गरिएको दोस्रो चरणको परीक्षणमा नेपालमा तयार पारिएको अक्सिजन सिलिन्डरले थेग्नुपर्ने आवश्यक चापभन्दा तीन गुणा बढी चाप थेपेको ढकालले बताए ।

नास्टले पहिलो चरणमा गरेको परीक्षणमा अक्सिजन सिलिन्डरले आवश्यक चाप थेग्न सक्ने प्रमाणित भएको थियो । परीक्षणका क्रममा सिलिन्डरमा राखिएको भल्भ लिकेज भएको थियो । पहिलो चरणमा देखिएको समस्या सुधार गरी दोस्रो चरणमा सिलिन्डर परीक्षण गरिएको थियो । आइतबार राति दुईवटा सिलिन्डरको परीक्षण गरिएको ढकालले जानकारी दिए ।

अक्सिजन सिलिन्डरले १ सय ५० केजी प्रतिवर्ग सेन्टिमिटर चाप (प्रेसर) खेप्नुपर्ने मापदण्ड छ । नास्टले गरेको परीक्षणमा नेपालमा तयार अक्सिजन सिलिन्डरको प्रोटोटाइपले २ सय ३५ प्रतिवर्ग सेन्टिमिटरसम्म चाप धानेको थियो । सिलिन्डरले आवश्यकभन्दा बढी चाप खपेको भए पनि परीक्षणका क्रममा यो आंशिक सफलता भएको ढकालले बताए ।

आइतबार राति गरिएको दोस्रो चरणको परीक्षणका क्रममा भने सिलिन्डरले ५ सय १५ प्रतिवर्ग सेन्टिमिटरसम्म चाप धानेको थियो । कोभिड–१९ को संक्रमण बढेका बेला देशभर अक्सिजन सिलिन्डरको अभाव भएपछि नास्टले सिलिन्डर तयार पारी परीक्षण थालेको थियो ।

नास्टले सुरुमा एलपीजी ग्यास सिलिन्डरमा अक्सिजन राख्न सकिने विकल्पमा अध्ययन गरेको थियो । तर प्राविधिक हिसाबले सम्भव नभएपछि अक्सिजन सिलिन्डरको छुट्टै प्रोटोटाइप तयार पारिएको थियो । एलपीजी ग्यास सिलिन्डरले १५ केजी प्रतिसीएम स्क्वायर मात्रै प्रेसर खप्न सक्ने भएकाले प्राविधिक रूपमा यो सम्भव नभएको वरिष्ठ प्राविधिक अधिकृत ढकालले बताए । आजको कान्तिपुरमा यो समाचार छ

You might also like

Comments are closed.