Nepal's First Video FM

उपेन्द्रले सोधे महन्थलाई काउन्टर स्पष्टीकरण : प्रधानमन्त्री साथ देखि पार्टीलाई पकेट किन बनाएको ?

294

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरलाई स्पष्टीकरण सोधेको छ।

मंगलवार राती महन्थले उपेन्द्रलाई ७ बुँदे स्पष्टीकरण सोधेका बेला सोही दिन उपेन्द्रका तर्फबाट केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले महन्थलाई ८ बुँदे स्पष्टीकरण सोधेका हुन्।

महन्थले विपक्षी गठबन्धनलाई किन साथ दिएको, लुम्बिनीमा किन एकलौटी सांसदमाथि कारवाही गरेको, मधेश मुद्दा समाधान गराउँदा किन ठेस पुग्यो भनि प्रश्न गरेका छन्। स्पष्टीकरण बुझाउन तीन दिनको समय दिएका छन्।

यता उपेन्द्र समूहले भने प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई किन साथ दिएको, राजेन्द्र महतोलाई किन संसदीय दलको नेता चुनेको, नेताहरुलाई किन संविधान संशोधन कार्यदलमा पठाएको भनेर सोधेका छन्।

उपेन्द्र समूहले सोधेको स्पष्टीकरणमा महन्थका काम कारवाही र क्रियाकलापहरु पार्टीको नीति एवम् विधि विधान विपरीत भएको, जेठ ८ को केन्द्रीय कार्यकारिणी समितिले स्पष्टीकरण सोध्ने निर्णय गरेकोले पार्टी विधानको धारा ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार स्पष्टीकरण सोधिएको उल्लेख छ। स्पष्टीकरण पत्रमा ३ दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन भनिएको छ।

‘तपाईंबाट पार्टीमा गुटबन्दी गर्ने र अनुशासन भंग गर्ने गराउने कार्य भइरहेकोले तपाईँमाथि पार्टी विधानको धारा ४९ बमोजिम अनुशासन सम्बन्धी कारवाही किन नगर्ने? यस सन्दर्भमा यो पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्ट र चित्त बुझ्दो जवाफ प्राप्त नभएमा तपाईँलाई पार्टी विधान बमोजिम अनुशासनको कारवाही हुने व्यहोरासमेत अवगत गराइन्छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ।

स्पष्ट पार्नुपर्ने विषयहरु :

१) प्रधानमन्त्री के.पी. शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानकर प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको?

२) पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकको बेवास्ता गर्ने, अनुपस्थित हुने तर आफनो समर्थकलाई मात्र बोलाई पार्टी विधान र आचारसंहिता विपरीत गुटबन्दीपूर्ण कियाकलाप किन गरेको?

३) पार्टीको केन्द्रीय कार्यालय बालकमारी, ललितपुरमा हुँदा हुँदै छुट्टै कार्यालय सञ्चालन गर्ने कार्य किन गरेको?

४) पार्टीको निर्णयविना राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, संसद सचिवालयमा पार्टीको तर्फबाट पत्रहरु लेख्ने पठाउने कार्य किन गरेको?

५) मिति २०७४।०२।०३ गते दुई अध्यक्षले जारी गरेको ८ बुंदे सहमतिको विज्ञप्ति पालना किन नगरेको?

६) पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा संसदीय दलको नेता घोषणा गरी संघीय संसदलाई पत्र पठाएको ?

७) पार्टीको आधिकारिक निर्णयविना सरकारसंग वार्ता गर्ने भनि लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारसंग वार्ता कार्यदलमा किन पठाइयो ?

८) विधानमा नभएको व्यवस्थालाई आफूखुशी स्वेच्छाचारीता लाद्ने र पार्टीलाई आफ्नो पकेट बनाउने कार्य एवम् क्रियाकलाप किन गरेको ?

You might also like

Comments are closed.