काठमाण्डौ – काठमाण्डौ उपत्यकाका तीन जिल्लामा आजदेखि निषेधाज्ञा थप कडा बनाइएको छ ।
यसअघि बिहान फलफूल र तरकारी पसलसँगै खाद्यान्न पसल पनि सञ्चालन हुँदै आएकामा आजदेखि एक हप्ता खाद्यान्न र किराना पसल खोल्न नपाइने भएको छ ।
तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने छ ।
यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ ।
यस्तै, बिहान बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ । झण्डै एक महिनादेखि सुरु भएको निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा केही सफलता प्राप्त भएको र अबको एक हप्ता थप कडाइका साथ निषेधाज्ञा लागू गरिएको तीनवटै जिल्ला प्रशासनले जनाएका छन् ।
आजदेखि २० गतेसम्म एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध थप कठोर बन्ने र नमान्नेलाई जेल सजायसम्म हुने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन स्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइएको हो ।
अबको एक हप्ताभित्र खाद्यान्न अभाव भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द ९९८५१३२०३१४०, विभागीय प्रमुख भीमबहादुर थापा ९९८५११३६७८५० र प्रादेशिक प्रमुख थापाथलीका ज्ञानु थापा ९९८५११२१७८८० लाई फोन गर्न सकिनेछ ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ ९९८५१०२२५६४०, नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी ९९८५१०३३३०३, विभागीय प्रमुख सवल रिजाल ९९८५१११३६६००, र प्रज्वल प्रधान ९९८४१३३२९९०० लाई फोन गर्न सकिने काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले विज्ञप्ति निकालेर जानकारी गराएका छन् ।
Comments are closed.