Nepal's First Video FM

खुसीको खबर: जहाज चार्टर्ड गरेर बेलायतले पठायो २६० भेन्टिलेटरसहित सहयोग सामग्री

253

काठमाडौँ, बेलायतले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

जहाज आइपुगे लगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिट उक्त सहयोग सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन्। प्रष्टसँग नेपाली बोल्न सक्ने राजदूत पोलिटले सहयोग सामग्रीबारे विमानस्थलमै भिडिओ पनि बनाएकी छन्।

स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोनाविरूद्धको नेपाल र नेपालीको लडाइँमा सहयोग गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिए। राजदूत पोलिट बेलायतको तर्फबाट सहयोग जारी रहने बताइन्।

बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टिलेटर (१३० सिपाप र १३० बिपाप), १९ हजार २ सय आई प्रोटेक्टर छन्। सोही जहाजले नेपालमेडयुकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइदिएको छ।

यसअघि बेलायती उपल्लो सदनमा नेपाललाई तत्काल कोरोना खोप सहयोग गर्नेबारे छलफल भएको थियो।

यस्तै सरकारले १० दिनभित्रमा एक करोड डोज खोप खरिदको टुंगो लाग्ने जनाएको छ ।

खोप खरिद प्रक्रियामा जुटेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार भर्चुअल पत्रकार सम्मेलनमा १० दिनभित्र चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख खोप खरिदको टुंगो लाग्ने जनाए ।

यी दुवै देशबाट सरकारले ५०–५० लाख डोज खरिद गर्ने तयारी गरेको छ । त्यसबाहेक चीनले दिने भनेको १० लाख डोज खोप अर्को साता काठमाडौं आइपुग्नेछ ।

त्यसैगरी अमेरिकी सरकारले प्रयोग नगरी राखेको अष्ट्राजेनेकाको थप १० लाख डोज पनि ल्याउने विषयमा कूटनीतिक पहल भइरहेको उनले जानकारी दिए ।

यी सबै खोप आएमा नेपालमा तत्कालै एक करोड २० लाख डोज खोप आयात हुनेछ । परराष्ट्र मन्त्री ज्ञवालीले १० दिनमा ‘ब्रेक थ्रु’ हुने जनाएका छन् ।

You might also like

Comments are closed.