काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले प्रचण्ड र माधव नेपाललाई गणतन्त्र स्थापनाको युगान्तकारी संघर्षका महानायकको संज्ञा दिएका छन् ।
१४ औं गणतन्त्र दिवसका अवसरमा गौतमले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री केपी ओलीको नाम नलिई तत्कालीन एमालेले गणतन्त्रको निर्णय गर्दा झापा संघर्षका मुख्य तीन नेता विरुद्धमा रहेको दावी गरेका छन् ।
गौतमले गणतन्त्र स्थापनाका तीन महानायकमध्ये गिरिजाप्रसाद कोइराला अहिले नरहेको र प्रचण्ड तथा माधव नेपाल नेपाली राजनीतिमा सक्रिय रहेको भन्दै ओलीलाई गणतन्त्रविरोधी कित्तामा राख्न खोजेका छन् ।
गौतमले भनेका छन्, ‘बिडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो।त्यो बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’
गौतमले झापा संघर्षका मुखय तीन नेता भनेर ओली,सीपी मैनाली र राधाकृष्ण मैनालीलाई लक्षित गरेका हुन् ।
एमाले एकता अभियान सन्चालन गरिरहेका गौतम पछिल्लो समय ओलीसँग रुष्ट छन् । उनले झलनाथ र माधव नेपालले अर्को पार्टी दर्ता गरेमा आफू त्यसमा सामेल हुने बताएका छन् ।
हेर्नुहोस उनले सामाजिक संजालमा लेखेको जस्ताको तेस्तै …….
गणतन्त्र दिवस जिन्दावाद !
आज १४औं गणतन्त्र दिवस हो। यस अवसरमा सवै शहीद र अग्रज नेताहरुलाई श्रद्धान्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाड़ी बढ्न आह्वान गर्दछु।
नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ।
तर वि. स.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।
विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं।
वामदेव गौतम
उपाध्यक्ष नेकपा (एमाले)
संयोजक
पार्टी एकता राष्ट्रीय अभियान
१५जेठ२०७८ गणतन्त्र दिवस
Comments are closed.