काठमाडौं । बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको औषधी उपचारलगायत सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका छन् ।
कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा लागेको सबै खर्च बीएण्डसी मेडिकल कलेजले व्यहोर्ने प्रसाईले घोषणा गरेका हुन् ।
‘सामाजिक अभियान्ता तथा विवेकशिल पार्टीका पूर्व अध्यक्ष थापाको उपचारमा सहयोग संकलन लागि आह्वान भएको जानकारी हुन आएकोले मेडिसिटी अस्पतालमा उपचाररत उहाँको सम्पूर्ण उपचार खर्च बिएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले प्रदान गर्ने व्यहोरा अनुरोध गर्दै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
अस्पतालको सामाजिक उत्तरदायित्व र मूल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भन्ने रहेकाले थापाको उपचार खर्च व्यहोर्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
केही दिनदेखि भेन्टिलेटरमा उपचाररत थापालाई इसिएमओ प्रविधिबाट उपचार गराउनका लागि आर्थिक सहयोग संकलन थालिएको हो। भेन्टिलेटरमा उपचार गराइरहँदा उनको स्वास्थ्यमा त्यति प्रगति नदेखिएको भन्दै चिकित्सकको सल्लाहमा उक्त प्रविधिबाट उपचार गर्न सुझाएका हुन्।
थापा कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए। ह्याम्सले ग्राण्डी अस्पताल रेफर गरेपनि इसिएमओ प्रविधिबाट उपचार गर्नुपर्ने भएपछि मेडिसिटी लगिएको हो।
मेडिसिटी अस्पतालका अस्पतालका आकस्मिक विभागका चिकित्सकहरु डा विजय चौधरी, डा सञ्जय कार्की, पारामेडिक्सहरु रमेश न्यौपाने र बालिगंग शाहीको टोलीले थापालाई मेसिसिटी ल्याएको हो।
इसिएमओ एक प्रकारको मेसिन हो, जसले बिरामीलाई रगत पम्प गरी अक्सिजन गर्ने र यसले मुटु र फोक्सोलाई आराम दिन मद्दत गर्छ। तर, यो उपचार पद्धति साह्रै महंगो भएको भन्दै थापाका शुभचिन्तकले आर्थिक सहयोग संकलन थालेका हुन्।
सहयोगका लागि विदेशमा हुने गोफन्डमी र नेपालमा हुनेले आलोक सुवेदीको कुमारी बैंक मैतिदेवी शाखाको खाता नम्बर १९४०१०५०६५४००००१ मा वा खल्ति ९८१०२७६४७३ मा वा इसेवा ९८१०२७६४७३ सहयोग गर्न आग्रह गरिएको छ।
Comments are closed.