Nepal's First Video FM

कोरोना संक्रमणबाट निधन भएका परिवारलाई, धुलिखेल नगरपालिकाले दिन भयो किरिया खर्च

292

काठमाडौँ, धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार दिने भएको छ ।

कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरले जनाएको छ ।

“महामारीको यस घडीमा नगरको सहयोगले मृतक परिवारलाई केही राहत पुग्ने विश्वास गरेका छौँ”, नगरप्रमुख अशोक ब्याञ्जूले भने ।

उनका अनुसार कोरोना संक्रमितको अवस्था बुझ्दै उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउने तथा मृत्यु भएकाको र संक्रमित परिवारमा देखिने समस्या पहिचान गर्दै स्वास्थ्य सामग्री र औषधि वितरणको काम भइरहेको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता धुलिखेल नगरमा हाल १ सय ८८ पुरुषसहित ३ सय ११ सक्रिय संक्रमित रहेका छन् । धुलिखेलमा हालसम्म कोरोना भाइरस् सङ्क्रमणबाट २८ को मृत्यु भइसकेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३ सय २५ मा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा २ सय ७३ संक्रमण मुक्त भएका छन् भने तीनको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २ सय १५ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमितमध्ये बनेपा नगरमा ३ सय ३, पनौतीमा २ सय ६, पाँचखालमा ३ सय ३२, नमोबुद्धमा १ सय १०, मण्डनदेउपुरमा १ सय ९० तथा रोशी गाउँपालिकामा १ सय ५४, चौँरीदेउरालीमा ५७, तेमालमा १ सय ३, भुम्लुमा २ सय १०, खानीखोलामा ३८, बेथानचोकमा १ सय २० र महाभारत गाउँपालिकामा ८१ सक्रिय संक्रमित रहेको केन्द्रले जनाएको छ ।

कुल संक्रमितमध्ये ९४ दशमलव ५९ प्रतिशत अर्थात् दुई हजार ९५ संक्रमित होम आइसोलेसनमा उपचाररत छन् । हालसम्म जिल्लाका १ सय ३६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

You might also like

Comments are closed.