रसुवा- हिमाली दुर्गम जिल्ला रसुवामा पहिलोपटक रसुवा अस्पतालमा भेन्टिलेटर उपलब्ध भएको छ । भेन्टिलेटरसमेतका स्वास्थ्य सामग्री विघटित प्रतिनिधि सभाका सांसद मोहन आचार्यद्वारा कोभिड नियन्त्रण व्यवस्थापन समितिलाई बुधबार हस्तान्तरण भएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार सांसद आचार्यद्वारा मिनी भेण्टिलेटर चार थान, अस्पताल भर्ना भएका बिरामी सुताउने शय्या पाँच, अक्सोमिटर ३० वटा एवं सर्जिकल मास्क तीन हजारसमेत रु १६ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको हो । हस्तान्तरण भएका सामग्री धुञ्चेमा रहेको जिल्ला अस्पताल र जीवजीवेमा रहेको ग्रामीण अस्पताललाई बराबर दिने आचार्यको निर्देशनबमोजिम प्राप्त सामग्री अस्पतालमा पठाइसकिएको प्रजिअ ढकालले जानकारी दिए ।
कोभिड–१९ को जटिल अवस्थामा आचार्यद्वारा प्राप्त सामग्री जनहितकारी भएको कोभिड नियन्त्रण जिल्ला समन्वय समितिले जनाएको छ । शरीरमा अक्सिजन कमी हुन गई श्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारमा सहज पार्ने पबित्र भावले जिल्लामा रहेका दुईवटा अस्पताललाई आफ्नो व्यक्तिगत तवरबाट भेन्टिलेटरसमेत सहयोग प्रदान गरेको आचार्यले बताए।
कोभिड–१९ को पहिलो सङ्क्रमणमा समेत आचार्यबाट स्वास्थ्य सामग्री प्रदानका साथै कोरोना सङ्क्रमणको अवस्थामा बिहान–बेलुका छाक टार्न मुस्किल भएका ५०० भन्दा बढी विपन्न परिवारलाई आफ्नोतर्फबाट खाद्य सामग्री प्रदान गर्नुका साथै कोरोना नियन्त्रण अग्रपङ्क्तिमा काम गर्ने ५०० भन्दा बढी व्यक्तिलाई स्वास्थ्य बीमा गराएक थिए ।
Comments are closed.