Nepal's First Video FM

लामो समय देखि अनिकालसँग जुधिरहेको चेपाङ बस्तीले पायो राहत, क्याप्टेन रमेश श्रेष्ठले गरे पहल

361

दाङ । तीन महिनादेखि अनिकाल र भोकमरीमा परेका धादिङको बेनिघाटरोराङ गाउँपालिका–८ स्थित चेपाङ बस्तीमा बुधबार राहत वितरण गरिएको छ ।

यति एयरलाइन्सका पाइलट क्याप्टेन रमेश श्रेष्ठको पहलमा सो गाउँका १२० परिवारलाई स्थलमै पुगेर चामल दाल, नुन र तेल वितरण गरिएको हो ।

कार्यक्रममा नेपाल चेपाङ चेपाङ सङ्घ, धादिङका अध्यक्ष भीमबहादुर चेपाङ, वडाध्यक्ष वीरबहादुर श्रेष्ठलगायतले राहत वितरण गर्दै गाउँपालिकाले समेत चेपाङ गाउँमा खाद्यान्न वितरण गरेको र दाताहरुको सहयोगले स्थानीय सरकारलाई सहयोग पुगेको बताए ।

कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण मजदुरी गर्न जाने अवस्था नभएको र घरमा खाने अन्न समेत नभएपछि गाउँबासी तिनचार दिनमा एक छाक खोले वा ढिँडो खाने गरेको अध्यक्ष चेपाङको भनाइ छ ।

गाउँपालिकाले वर्षभरी आफ्नो उत्पादनले खान नपुग्नेका लागि उचित व्यवस्थाको योजना बनाउन नसकेकोले यस किसिमको अवस्था आएको चेपाङ अगुवाहरुले जनाएका छन् ।

गत वर्ष महामारीकै कारण रसायनिक मल अभाव हुँदा चेपाङहरुले मकैमा मलसमेत हाल्न पाएका थिएनन् । मल नहालेका कारण मकै उत्पादन कम भयो ।

यस वर्ष पनि मल ल्याउन नसकेपछि अर्को वर्ष झनै समस्या हुने अवस्था रहेकाले गाउँपालिकाले यसतर्फ ध्यान दिएर पहल गर्नुपर्ने अध्यक्ष चेपाङको भनाइ छ ।

You might also like

Comments are closed.