Nepal's First Video FM

‘मलाई त्यही केटी चाहिन्छ’ भने झैँ राष्ट्रपतिले मलाई यही प्रधानमन्त्री चाहिन्छ भन्नुभयो- अधिवक्ता बन्दी

457

काठमाडौं- अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रतिनिधि सभा विघटन मुद्दामा बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले राष्ट्रपति संविधानभन्दा बाहिर जान खोजेको बताए।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्न आधार प्रस्तुत गर्न दलको समर्थन आवश्यक नपर्ने स्पष्ट भएको उनले बताए। ‘ओलीको बहुमत छ, अरूको छैन भन्ने राष्ट्रपति को हो?’, बन्दीले भने, ‘मलाई त्यही केटी चाहिन्छ भने झैँ राष्ट्रपतिले मलाई यही प्रधानमन्त्री चाहिन्छ भन्नु भएको छ।’

संविधान अनुसार विधि पुगेर प्रधानमन्त्रीको दाबी गर्नेलाई राष्ट्रपतिले इन्कार गर्न नपाउने बन्दीले तर्क गरे।

प्रतिनिधि सभा विघटन सिफारिस र विघटन मध्यरातमा गरिनु गलत भएको उनले बताए। मध्यरातमा सिफारिस र विघटन गरेको घटनाले नियत प्रष्ट भएको उनले बताए। ‘दुवैतिर नाम परेका सांसदलाई बोलाएर छलफल गर्न सकिने थिएन? दुवैतर्फको दाबी परेपछि राष्ट्रपतिबाट परामर्श लिने कार्य पनि गरिएन’, उनले भने।

जेठ ७ गते राति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। त्यसअघि केपी शर्मा ओली र शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेकोमा उनले ती दुवै दाबी खारेज गरिदिएकी थिइन्।

‘विश्वास गुमाएको प्रधानमन्त्रीले ७६ (३) अनुसार विघटन गर्ने अधिकार कहाँ दिन्छ? विश्वासको मत पाउने आधार प्रस्तुत गर्न सकेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ’, उनले भने, ‘१३६ भए बहुमत पुग्नेमा १४९ जनाको हस्ताक्षर छ। यहाँ भन्दा बढी आधार चाहिने राष्ट्रपतिलाई आधार के हो? राष्ट्रपति संविधान बाहिर गएको देखियो।’ स्रोत नेपाल लाइभ

You might also like

Comments are closed.